वातावरण संस्थाद्वारा वित्तीय साक्षरता


स्काई न्यूज जेष्ठ २३, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था वित्तिय साक्षरता अभियानमा जुटेको छ । संस्थाले यरिचोक सेवा केन्द्र अन्तर्गत लघुवित्त कार्यक्रममा आवद्ध केन्द्र प्रमुखहरुको सहभागितामा तीन दिने वित्तीय साक्षरता अभियान सोमबार वीरेन्द्रनगरमा सम्पन्न गरेको हो ।
वित्तिय साक्षरता कार्यक्रममा यरिचोक सेवा केन्द्र अन्तर्गत रहेका विभिन्न केन्द्रबाट ९० जना सदस्यहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले वातावरण लघुवित्त कार्यक्रम मार्फत विपन्न वर्गका महिलाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई सुधार गर्न वित्तिय साक्षरता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।


उनले संस्थाका सदस्यलाई उद्यमी बनाएर परम्परागत निर्वाहमुखी व्यवसायबाट व्यवसायीमुखी क्रियाकलापमा संलग्न गर्न वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिइने बताए । कार्यक्रमकै अवसर पारेर स्थानीय निर्वाचन–२०७९, मा जनप्रतिनिधिको रुपमा निर्वाचित भएका संस्थाका विभिन्न सदस्यलाई सम्मान गर्नुको साथै यरिचोक सेवा केन्द्रमा आवद्ध उत्कृष्ट ५ वटा केन्द्रलाई उत्कृष्ट केन्द्र पुरस्कारबाट पुरस्कृत समेत गरिएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।


