२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 29, 2026

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही



 

असार ४, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ र मर्चेन्ट बैंकर्स एशोसिएशन अफ नेपालद्वारा शनिवार सुर्खेतमा आयोजित प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रममा उहाँले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए । मुख्यमन्त्री शाहीले पूँजीबजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह गरे ।

‘शेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैं एकनाशको हुँदैन’ , उनले भने, ‘शेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, शेयर बजारमा पनि नियामक निकाय छ भन्ने आभास दिलाउनुस् ।’

कर्णालीमा पूँजीबजार लगानीकर्ताको संख्या निकै कम रहेको भन्दै उनले विकासको गति, पूँजीबजार सचेतना, बैंकिङ सुविधा पहुँचका कारण बढ्ने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासन कायम गर्ने दाबी गरे । उनले कर्णाली प्रदेश र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरी सात प्रदेशमा सबैभन्दा कम आकारको बजेट आफूले ल्याएको बताए।

बजेटमा यसअघि महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका त्रुटि सच्याएको तथा मुख्यमन्त्री कार्यालयको बजेट घटाएर सम्बन्धित विभागीय मन्त्रालयमा पठाएर वित्तीय अनुशासन कायम गरेको उनको भनाइ थियो ।

सचेतना कार्यक्रममा पूँजीबजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले प्राथमिक शेयर भर्ने प्रक्रियामा सुधारसँगै शेयर बजारप्रति आकर्षण बढेको बताए। उनले प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा प्रवेश गर्दा भने पूँजीबजारको विषयमा बुझेर र आवश्यकमात्रामा समयको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पछिल्लो समय पूँजीबजार अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको धारणा राखे ।

त्यस्तै नेपाल उद्योग परिसंघका प्रदेश उपाध्यक्ष विष्णुकुमार खड्काले राज्यका निकायबाटै शेयर बजार असुरक्षित हुनुका साथै लगानीकर्ता निराश बन्न पुगेको बताए ।  नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष मोदनाथ ढकालले सचेतना कार्यक्रमले कर्णाली प्रदेशमा पूँजीबजारका लगानीकर्ता बढ्ने अपेक्षा व्यक्त गरे ।

एकदिने सचेतना कार्यक्रममा कर्णालीका आर्थिक क्षेत्रमा संलग्न व्यक्तिका साथै शिक्षक, विद्यार्थीलगायतको सहभागिता थियो । रासस

प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार
Translate »