२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

लघु, घरेलु कर्णाली प्रादेशिक महोसत्व



स्काई न्यूज/असार १४, सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर स्थित औद्योगिक ग्राममा प्रथम साना लघु, घरेलु तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको कर्णाली प्रादेशिक महोत्सव शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामाले सोमबार महोत्सवको उद्घाटन गर्दै कर्णालीको समृद्धिका लागि साना लघु घरेलु उद्योगहरुको भूमिका महत्वपूर्ण रहेकाले प्रदेश सरकार उद्यमीसँग हातेमालो गरेर अघि तयार रहेको बताए । उनले ठूला उद्योगको सहयोगीका रुपमा रहेका साना लघु, घरेलु उद्योगहरुको संरक्षण र विकासका लागि प्रदेश सकारले अधिकतम् प्रयासहरु अघि बढाएको जनाए ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले उद्योग स्थापना परिचालनका लागि कर्णालीका २ सय २० जना साना लघु घरेलु उद्यमीलाई १० देखि २० लाख रुपैयाँसम्म निःशुल्क व्याज ऋण उपलब्ध गराउने कार्यक्रम प्रदेश सरकारले ल्याएको जानकारी दिए । उनले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको सदृढिकरण गर्न चाहने एक सय जना उद्यमीका लागि १० देखि २५ लाख रुपैयाँ अनुदानको कार्यक्रम रहेको बताए ।

उनका अनुसार स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न चाहिने उद्यमीलाई डेढ करोड रुपैयाँ व्याज अनुदानको समेत व्यवस्था मिलाईएको छ । त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले स्वदेशी वस्तुको उत्पादन बृद्धि नगरि स्वदेशी वस्तु निर्यात घटाउन नसिकने भएकाले तीनै तहका सरकारले देशका सबैमा पालिकामा एउटा औद्योगिक ग्रााम निर्माणमा जोड दिन आग्रह गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर विसीले बजारीकरणको अभावमा कर्णालीका २७ हजार लघु घरेलु उद्योगहरुको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गईरहेकाले राज्यले ती उद्योगको संरक्षणका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा महिला उद्यमी संघ कर्णाली प्रदेशका अध्यक्ष गोमा वलीले कृषि, साना, लघु, घरेलु महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु तथा सामाग्रीको प्रर्दशनी मेलाले बजारीकरणमा टेवा पुग्नुका साथै उद्यमी वीच एक आपसमा समन्वय तथा सहकार्य भई आत्मबलमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

उहाँले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित तीन दिने मेला बुधबार सम्पन्न हुने जानकारी दिईन् । मेलामा कर्णाली प्रदेशका दशै जिल्लाका महिला उद्यमीहरुले उत्पादन गरेका कृषि, लघु घरेलु वस्तु तथा साम्रागीहरुको प्रर्दशनी गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार १४ गते मंगलबार
Translate »