सुर्खेतमा अफ्रिकन स्वाईन फिभर रोग भित्रिन नदिन उच्च सतर्कता

स्काई न्यूज/साउन २६, सुर्खेत ।  देशका विभिन्न भागमा सुँगुर तथा बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखा परेपछि सुर्खेतमा उच्च सतर्कता अपनाईएको छ । झापा, काठमाडौं, चितवनलगायतका क्षेत्रमा सुँगुरहरु मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको पत्ता लागेपछि विस्तारै अन्य क्षेत्रमा समेत फैलिन सक्ने भएकाले सुर्खेतमा पनि उच्च सतकर्ता अपनाईएको हो । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा अन्तरप्रदेशबाट ल्याईने रोगी सुँगुर, बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने हुँदा कडा निगरानी गरिएको छ ।

बाहिरबाट सुँगुर तथा बंगुर ल्याउनुनै पर्ने भए पशु चिकित्सकबाट चेकजाँच परीक्षणपछि निरोगिता प्रमाणपत्र भएको पाईएपछि मात्र भित्र्याईन पाईने पशुपंक्षी विकास निर्देशनालय सुर्खेतले जनाएको छ । अफ्रिकन स्वाइन फिभरको संक्रमण जतिबेला पनि फैलिन सक्ने भएकाले सुर्खेतसहित कर्णालीका सबै जिल्लामा उच्च सतर्कता अपनाईएको पशुपंक्षी विकास निर्देशनालयका निर्देशक प्रचण्ड खड्काले जानकारी दिए । उनले गत वर्ष चैतदेखि नेपालमा देखापर्न थालेको अफ्रिकन स्वाइन फिभरको संक्रमण रोकथाम नियन्त्रणका लागि सुर्खेत भित्रिने सबै नाकाहरुमा पशु विज्ञ, सुँगुर तथा बंगुर पालक तथा व्यवसायी, स्थानीय प्रशासनसँगै सुरक्षा निकायसँग समन्वय एवं सहकार्य गदै सतर्कता अपनाईएको जनाए ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएकाले प्रभावकारी उपचार नहुने हुँदा सर्तकता नअपनाइएमा ठूला आर्थिक क्षति गराउने सक्ने उनको भनाइ छ । ‘कुनै स्थानमा अस्वाभाविक रुपमा बंगुर मरेमा वा लक्षण देखा परेमा तत्काल स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायमा खबर गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘यो रोगका कारण क्षति भएका कृषकलाई राहत दिने व्यवस्था छैन ।’ बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बंदेल प्रजातिमा देखा पर्ने भाइरस हो । यो रोग पशुबाट मानिसमा भने सर्दैन ।

यो रोगका लक्षण
यो रोगबाट संक्रमण भएमा सुँगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्छ । बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो संख्यामा मर्ने पशु विज्ञहरु बताएका छन् । विज्ञका अनुसार यो उच्च मृत्युदर भएको अति खतरनाक महारमारीजन्य सरुवा रोग हो । यो रोगका कारण मृत्यु भएका पशुको मासु नखान विज्ञहरुको सुझाव छ ।

Translate »