

सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीबाट वर्षेनी विभिन्न सचेतना कार्यक्रम सञ्चालनका वावजुत दुर्घटनामा कमी आउन सकेको छैन् । फेरीपनि सडक दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीको एक्कल प्रयास सराहनिय रहेपनि राज्यले सडकको गुणस्तर बृद्धिसँगै ट्राफिक सचेतनामा लगानी बढाउनु पर्छ । अहिले तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न सुर्खेतमा ‘राडर गन’ सहित ट्राफिक प्रहरी राजमार्गमा खटिएका छन् । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पिड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै ट्राफिक प्रहरीले कारबाही शुरु गरेको छ । सुर्खेतमा भएका दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्यांकले देखिएको छ । उक्त दुर्घटना मध्ये अधिकांश रत्नराजमार्ग, सुर्खेत–जुम्ला राजमार्ग र सुर्खेत–दैलेख सडक खण्डमा तीव्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग ट्राफिक प्रहरीले गरेको हो । सुर्खेतमा आर्थिक वर्ष २०७८/७९मा ३ सय ४९ वटा दुर्घटना भएकोमा ३२ जनाले ज्यान गुमाएका छन् ।

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरेपनि दुर्घटना र मृतकको संख्या घट्न सकेको छैन । चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारबाही, आफू बचौं अरुलाई बचाऔं, ट्रिपर हाइवे चेकजाँचका लागि टेंगो होटल, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारबाही छाडा पशु र सवारीसाधनमा रिफलेक्टर लगायतका अभियान सुर्खेत ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ । उता गत वर्ष ट्राफिक नियम उलंघन लगायतका जरिवाना वापत ट्राफिक प्रहरीले कर्णाली प्रदेश भरीबाट ३ करोड ३२ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३५ दशमलव ८२ प्रतिशतले बढी छ । त्यस आर्थिक वर्षमा कार्यालयले २ करोड ४४ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशभर ४ सय २ वटा सडक दुर्घटना भएका छन् । जसमा १ सय ९७ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २ सय ३६, आर्थिक वर्ष २०७७/७८ मा २ सय ९१ सडक दुर्घटना भएका थिए । पछिल्लो तीन आर्थिक वर्षमा सडक दुर्घटनाबाट ८ सय ७६ मानवीय र २१ पशुचौपायाको क्षति भएको थियो । यस अवधिमा ९ सय ९२ सडक दुर्घटनामा परेर ३ सय ९२ जनाले ज्यान गुमाएका छन् भने १ हजार २ सय जना घाइते भएका छन् । तर आर्थिक वर्ष २०७६/०७७ मा कोराना संक्रमणका कारण भएको लकडाउनले सवारी साधन कम चल्दा दुर्घटना न्यून देखिन्छ ।
तथ्यांक अनुसार सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समूहका मानिहरुको धेरै मृत्यु भएको छ । ती मध्ये २० देखि २५ वर्ष उमेर समुहका १ सय ७२ जनाले ज्यान गुमाए । सडक दुर्घटनाको मुख्य कारण तीव्र गति देखिएको छ । तीव्र गतिका कारण तीन वर्षमा ५ सय ३९ वटा सडक दुर्घटना भएका छन् । यान्त्रिक कारणले १ सय ९९, सडक अवस्थाको कारणले ४७, लापरबाहीका कारण ३५, ओभरट्याकको कारण २९, ट्राफिक नियम उलंघन ३८ र मौसमका कारण २५ दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । कर्णाली प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा जनशक्तिको कमि, स्रोत साधनको कम उपलब्धता, सडकको खराव अवस्था, सवारी चालकको लापरबाही, प्रविधि प्रयोगको अभाव लगायतका कारणले दुर्घटना न्यूनिकरणका लागि चुनौती देखिन्छ । कर्णाली प्रदेश भरी २ सय १८ जना ट्राफिक प्रहरी कार्यरत रहेका छन् । जस अनुसार प्रति ट्राफिक प्रहरीले ६३ वटा सवारी साधन रेखदेख गर्नुपर्ने अवस्था छ । मापदण्डविना बनाइएका सडकहरु, अत्याधिक साँघुरा मोडहरु, सडक सुरक्षा पूर्वाधार र सडक चिन्हको कमि, खाल्डाखुल्डी र पहिरोका कारणले दुर्घटना बढ्ने गरेको छ । यसतर्फ नागरिक सचेतासँगै राज्यले समेत सडक दुर्घटना न्यूनिककरणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न आवश्यक देखिन्छ ।











