२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

सञ्चय कोषको सुर्खेतमा २ अर्ब बढी लगानी : बैंकको कडाइले कोषको कर्जा प्रवाह बढ्यो



स्काई न्यूज /भदौं २७, सुर्खेत ।  कर्मचारी सञ्चय कोषले सुर्खेतमा दुई अर्ब बढी लगानी गरेको छ । कोषले सुर्खेत भ्यालीमा मात्र पछिल्लो ७ वर्षमा घर निर्माण सापटी कर्जा तर्फ २ अर्ब ३१ करोड ७९ लाख ३३ हजार रुपैयाँ लगानी गरेको जानकारी दिएको हो । कोषले पछिल्लो ६ वर्षमा घर मर्मत सापटी तर्फ ३१ करोड ८५ लाख ८७ हजार ७ सय रुपैयाँ लगानी गरेको बताएको छ । कोष सुर्खेतका सहायक प्रबन्धक भगवान दाहालका अनुसार पछिल्लो पाँच वर्षमा शैक्षिक सापटी तर्फ ३ करोड २५ लाख ३४ हजार रुपैयाँ लगानी गरिएको छ ।

उनले जग्गा खरिद सापटी तर्फ ८६ लाख २० हजार रुपैयाँ लगानी गरिएको जनाए । उनका अनुसार कोषले चालु आर्थिक वर्षदेखि जग्गा खरिदतर्फ मात्र १० दशमलव २५ प्रतिशत व्याजदर कायम गरिएको छ भने अन्य घर निर्माण, मर्मत तथा शैक्षिक सापटी तर्फ ९ दशमलव ७५ प्रतिशत वार्षिक व्याजदर कायम गरिएको छ । सञ्चित रकम मासिक रुपमा कट्टी हुनेका लागि वार्षिक ८ प्रतिशत व्याजदर कायम गरिएको उनले जानकारी दिए ।

‘कोषले घर निर्माण, घर खरिद, घर मर्मत सापटी वीरेन्द्रनगरको रत्नराजमार्गको धुलियाविटदेखि बाङ्गेसीमल खारखोलाको दायाँ बायाँ २ किलो मिटर क्षेत्रभित्र आफ्नो कार्यक्रम लागु गरेको छ,’ उनले भने, ‘वीरेन्द्रनगर भ्याली बाहिर अहिले भेरीगंगा नगरपालिकाको छिन्चु बजारदेखि तोलीखोलासम्मको दायाँ बायाँ ३ सय मिटर क्षेत्रभित्र कोषले उपलब्ध गराउँदै आएको कर्जाको सञ्चयकर्ता लाभ उठाउन सक्ने छन् ।’ उनले गएको आर्थिक वर्ष २०७८/०७९ मा घर सापटी तर्फ ४४ करोड १८ लाख ४८ हजार १ सय रुपैयाँ लगानी गरेको जनाए । उनका अनुसार घर मर्मत तर्फ ६ करोड २४ लाख १३ हजार ५ सय, जग्गा खरिद तर्फ ८६ लाख ८० हजार एवं शैक्षिक सापटी तर्फ ५१ लाख ५० हजार ६ सय रुपैयाँ लगानी गरिएको छ ।

कोषका सुर्खेत शाखा प्रमुख रामप्रसाद लामिछानेले कोषबाट आफ्ना सञ्चयकर्ताका लागि विभिन्न सेवाहरु सहजरुप उपलब्ध गराउँदै आएको बताए । ‘बैंकहरुले तरलता देखाउँदै ऋण लगानीमा कडाइ गर्नाका साथै केही समय स्थगन गरेकाले सञ्चय कोषबाट कर्जा लिनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘सञ्चयकर्ताको सुविधाका लागि विभिन्न योजना पनि कोषले ल्याउने गरेको छ ।’

उनले कार्यालयबाट सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनुका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको जनाए । धितोमा आधारित कर्जा प्रवाहका लागि दायरा विस्तार कार्यक्रम अन्तर्गत हाल सुर्खेत भ्यालीसँगै छिन्चुका विभिन्न स्थानको स्थलगत अध्ययन गरी स्वीकृतिको लागि सञ्चयकर्ता कर्जा विभागमा प्रतिवेदन पठाइएको उनले जानकारी दिए । कोषको शाखा कार्यालय सुर्खेतमा सञ्चालन आएयता कर्णालीका कर्मचारीले कोषको कामका लागि नेपालगञ्ज र काठमाडौं धाउनुपर्ने बाध्यतासमेत हटेको छ ।

उता नेपाल निजामति कर्मचारी यूनियन (संघ) का निवर्तमान केन्द्रीय उपाध्यक्ष नृपजंग शाहीले तुलनात्मक रुपमा कोषले वर्षेनी आफ्ना सेवा सुविधाहरु बढाउँदै गएपनि समय सापेक्ष आवास कर्जा कार्यक्रमको क्षेत्रफल सञ्चयकर्ताले चाहेजति बढाउन नसकेको गुनासो गरे । उनले कर्णाली प्रदेशका सबै जिल्ला सदरमुकामसँगै सबै पालिका केन्द्रहरुमा समेत कोषले आवास कर्जा कार्यक्रम उपलब्ध गराउनु पर्ने माग राखें । कोषले काठमाडौंमा सरल कर्जा उपलब्ध गराएपनि सुर्खेतमा त्यो सेवा उपलब्ध नगराउनु सञ्चयकर्ता माथि विभेद गरिएको उनको आरोप छ ।

प्रकाशित मिति : २०७९ भदौ २७ गते सोमबार
Translate »