कर्णालीमा करोड घटीका घडेरी पाउनै मुश्किल


स्काई न्यूज /असोज ११, सुर्खेत । कर्णालीका दर्जनौ बजार नदी किनारमा बसेका छन् । दैलेखको राकमदेखि सुदूरपश्चिम प्रदेशको साँफेबगरसम्मका दर्जनौ शहर नदी किनारमा अवस्थित छन् । पहाडी भूभाग भएकाले ती शहर÷बजारमा थप वस्ती विस्तारको सम्भावना निकै कम छ । एकतिर नदी र अर्कोतिर पहाडले च्यापेका ती ठाउँहरुमा सीमित जग्गा भएकै कारण जग्गाको मूल्य महँगो भइसकेको छ । सरकारले तोकेको न्युनतम मूल्याङ्कन नै रोपनीको २० लाख देखि पौने २ करोड रुपैयाँ हाराहारी भएका ती ठाउँमा चलनचल्तीको मूल्य कैयौं गुणा बढी छ ।
जग्गाको उपलब्धता घट्दै गएपछि त्यहाँ जग्गा किनबेचको शैली पनि फेरिएको छ । अर्थात जग्गाको क्षेत्रफल वर्गमिटर, धुर वा आना नभएर हातको आधारमा नापिन्छ । एक हात लम्बाइ र एक हात चौडाइ भएको जग्गाको मूल्य १० लाख रुपैयाँसम्म पर्छ । १० हात लम्बाइ र १० हात चौडाइ भएको जग्गाको मूल्य १ करोड रुपैयाँ पर्छ । १० हात भनेको करीब ५ मिटर लम्बाइ बराबर हो । यसरी एउटा ठिक्कको घडेरी किन्न पनि यी मध्ये धेरै ठाउँमा १ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ । जुन काठमाडौंका काठ क्षेत्रमा पाइने घडेरी जग्गाको मूल्यभन्दा बढी हो ।

कर्णाली प्रदेशमै पर्ने दैलेखको राकम कर्णाली उदाउँदो बजार क्षेत्र हो । मध्यपहाडी राजमार्ग र जुम्ला सुर्खेत राजमार्गसँग जोडिएको राकम बजार कर्णाली नदी किनारमा अवस्थित छ । यहाँ एक रोपनी जग्गाको सरकारी मूल्याङ्कन करीब २० लाख रुपैयाँ छ । तर चलनचल्तीमा भने यहाँ पनि एक करोड रुपैयाँ घटिमा घडेरी जग्गा किन्न सकिन्न । यहाँ एक हात जग्गाकै १० लाख रुपैयाँसम्म मोलमोलाई हुने गरेको छ । प्रदेशको उत्तरी जिल्ला जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका हो । यो तिला नदीको किनारमा अवस्थित छ ।


यहाँ १ रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ८८ लाख ७ हजार रुपैयाँसम्म रहेको छ । चलनचल्तीमा भने यहाँ पनि डेढदेखि २ करोड रुपैयाँ घटिमा १ रोपनी जग्गाको किनबेच हुँदैन । प्रदेशको हिमाली जिल्ला डोल्पा हो । डोल्पा सदरमुकाम दुनै बजार ठूलीभेरी नदीको किनारमा अवस्थित छ । यो सुन्दर नगरीमा जग्गाको मूल्य अन्य ठाउँमा जस्तो महँगो छैन । यहाँ प्रतिरोपनी जग्गाको न्युनतम मूल्याङ्कन करीब १८ लाख रुपैयाँ रहेको छ । तर यहाँ जग्गाको किनबेच निकै कम हुने हुँदा चलनचल्तीको मूल्यमा धेरै ठूलो अन्तर भने नरहेको मालपोत कार्यालयको भनाइ छ ।
यहाँ चलनचल्तीमा पनि प्रतिरोपनी ३० देखि ३५ लाख रुपैयाँमा जग्गा किनबेच हुन्छ । उता छिमेकी प्रदेश सुदूरपश्चिमकै पहाडी जिल्ला अछामको प्रमुख व्यापारिक क्षेत्र साँफेबगर हो । मध्यपहाडी राजमार्गले समेत छुने यो बजार बुढीगंगा नदीको किनारमा अवस्थित छ । यहाँ एक रोपनी जग्गाको सरकारी मूल्याङ्कन २८ लाख रुपैयाँ छ । चलनचल्तीमा भने यहाँ पनि ५० लाख देखि १ करोड रुपैयाँसम्म नै रहेको छ ।


