२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 20, 2026

विपद् व्यवस्थापनमा जुटौं



देशैभर दशैकै दिन देखि निरन्तर परिरहेको वर्षासँगै आएको बाढीपहिरोले लाखौंको धनमालसँगै धेरैले अकालमा ज्यान गुमाएका छन् । वर्षभरीको खेतमा भएको दुःखकष्ट दशैमा बिर्साउँन नपाउँदै यो वर्षको प्राकृतिक प्रकोपको मारले धेरै नागरिकले नोक्सानी उठाउनु परेको छ । अर्कोतर्फ जल तथा मौसम विज्ञान विभागले यो वर्ष दशैको बेला वर्षा हुने पूर्वानुमान गरेपछि धेरैले कम जोखिम उठाउनु परेको सुखद पक्ष नि छ । कर्णालीमा दशैंको अवधिमा सडक दुर्घटना र प्राकृतिक विपत्तिमा परेर २३ जनाको मृत्यु भएको छ । यो वर्षको दशैंमा कर्णालीलाई सडक दुर्घटनासँगै प्राकृतिक विपत्तिले पनि मानवीय र भौतिक क्षति पु¥यायो । कर्णालीमा असोज ९ गतेयता सडक दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा ठूलो क्षति सल्यानमा भयो । बाँकेको ढकेरीमा आफन्तको विवाहमा सहभागी भएर घर फर्कने क्रममा असोज १२ गते विहान साढे तीन बजेतिर सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानीस्थित राप्ती राजमार्गमा जिप दुर्घटना हुँदा एकै ठाउँका नौ जनाको मृत्यु भयो । सल्यानकै कुमाख गाउँपालिका–७ जिमालीमा असोज १५ गते भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भयो । अघिल्लो वर्ष दशैं अवधिमा कर्णालीमा ६३ जनाले ज्यान गुमाएका थिए । कर्णालीमा प्राकृतिक प्रकोपमा परेर नौ जनाले ज्यान गुमाएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारेकोटडाँडामा पहिरोमा परेर सात जनाको मृत्यु भएको छ । डोल्पामा हिमपातमा परेर दुई जना भरियाको मृत्यु भएको छ । डोल्पाको छोइला लेकमा हिमपातमा परेर एक भरिया र रिग्मो लेकमा अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो अवधिमा खोलाले बगाउँदा तीन जना वेपत्ता भएका छन् । ‘दैलेखमा एक र जुम्लामा २ जना बेपत्ता छन् । बाढीपहिरोले कर्णालीमा २८ वटा पशु चौपायाको पनि मृत्यु भएको छ । सल्यानमा चार र कालिकोटमा एक घर भत्किएका छन् । अबिरल वर्षाका कारण कर्णालीका मुख्य राजमार्ग र सहायक सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन् । पहिरोका कारण कर्णाली, भेरी र राप्ती राजमार्गका साथै सहायक सडकहरु भएका हुन् ।

जलवायु परिवर्तनको असरका कारण ‘इको सिस्टम’ नै खल्बलिएको छ। समयमै वर्षा नहुने, बैमौसमी वर्षा हुनेजस्ता कारणले जनधनको क्षति भइरहेको छ । सिँचाइ गर्ने बेलामा पानी नपरेर खडेरी भइरहेको छ । जेनतेन लगाइएका बाली पनि बेमौसमी अतिवृष्टिबाट क्षति व्यहोरिरहेका छन् । हिउँ पग्लेर हिमाल नाङ्गा हुन थालेका छन् । हिमताल फुट्ने खतरा उत्तिकै छ । सडक सञ्जाल विस्तारका नाममा पहाडी जिल्लामा जथाभावी डोजर चलाउँदा पहिरोको गएको छ । प्राकृतिक रुपमा हुने विपद् उद्धार, राहत र पुर्नस्थापनामा सवालमा राज्यका तीनवटै सरकार जिम्मेवार हुन आवश्यक देखिन्छ । प्राकृतिक विपत्तिबाट बच्ने भनेकै मानवीय व्यवहारले हो र त्यस्तो मानवीय व्यवहारका लागि पूर्वसूचना प्रणालीले महत्वपूर्ण हुन्छ । अब सरकारले त्यसतर्फ समेत विशेष ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहीबार
Translate »