२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

सुर्खेतका तीन उद्योगमा सिल



स्काई न्यूज /असोज ३०, सुर्खेत । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सुर्खेतले बजार अनुगमनका क्रममा तीन वटा उद्योग सिल गरेको छ । कार्यालयले शनिबार जिल्लाको भेरीगंगा नगरपालिकाका दुई र गुर्भाकोट नगरपालिकाको एउटा उद्योग सिल गरेको हो । पटक–पटक कार्यालयले दिएको निर्देशन पालना नगर्ने, विना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तुहरु उत्पादन तथा विक्री वितरण गरिरहेको पाईएपछि बाध्य भएर उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।

उनले अनुगमनका क्रममा भेरीगंगा नगरपालिकामा शिवशक्ति चाउमिन उद्योग छिन्चु र एभरेष्ट बेकरी उद्योग जहरेको उत्पादन तथा विक्री वितरणमा पूर्ण रोक लगाईएको बताए । उनका अनुसार अनुगमनकै क्रममा गुर्भाकोट नगरपालिकामा मापदण्ड विपरितको सीता चाउमिन उद्योगको उत्पादन तथा विक्री वितरणमा समेत रोक लगाईएको छ ।

ती उद्योगहरुले कार्यालयले दिएको निर्देशन अनुसार आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र सञ्चालन गर्न दिईने उनको भनाइ छ । कुनै अटेरी गरी आफुखुशी ती उद्योगले उत्पादन तथा विक्री वितरण गरेको पाईए दण्डात्मक कार्यका लागि कानूनी प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतबार
Translate »