रैथाने धानको जगेर्नासँगै पर्यटनको केन्द्र बन्दै गाभर भ्याली


कोहलपुर । बाँकेको गाभर भ्याली पछिल्लो समय पर्यटनको आकर्षणको केन्द्र मात्र नभई रैथाने उत्पादनको समेत महत्त्वपूर्ण क्षेत्र बन्दै गएको छ ।
स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्नबालीहरूको संरक्षणमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएपछि यो क्षेत्रले थप चर्चा पाएको हो । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेको छ । जसअनुसार गाभर भ्यालीमा पनि रैथाने धान उत्पादनमा पहल गरिएको हो ।
गाभर भ्यालीमा अहिले लोपोन्मुख धानका प्रजातिहरूलाई संरक्षण गर्ने अभियान सुरु भएको छ । यो क्षेत्रमा पाइने घैया, गर्भे र अनदी धानहरू लोप हुने अवस्थामा पुगेपछि गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बैजनाथ १ गाभरमा संरक्षणका प्रयासहरू गरिएको बताए ।
अध्यक्ष स्वयम् आफैले पनि चार कठ्ठामा घैया धान, १० कठ्ठामा अनदी धान र १ कठ्ठामा गर्भे धानको बिउ उत्पादनको लागि लगाएका छन् । गाभर क्षेत्रमा एक बिगाह भन्दा बढी क्षेत्रफलमा अहिले यी रैथाने धान लगाइएको छ । यी धानहरू संरक्षण गरेर यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउन खोजिएको चौधरीको भनाई छ ।
गाभर भ्यालीमा पर्यटनको विकाससँगै पर्यटकहरू पनि रैथाने उत्पादन अवलोकन गर्न आउने गरेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । उनका अनुसार गाभर भ्यालीले पर्यटकीय गतिविधिलाई बढावा दिएको मात्रै छैन, रैथाने बालीहरूको संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।


रैथाने जातका धानहरूमा मल र पानीको आवश्यकता न्यून हुने भएकाले यी बालीहरू संरक्षण गर्न तुलनात्मक रूपमा सजिलो छ । चौधरीका अनुसार हाइब्रिड धानहरूमा जस्तै धेरै मल र सिँचाइको आवश्यकता नभए पनि रैथाने प्रजातिका धान स्वस्थ र उत्पादनशील हुने गर्छन् । विशेष गरी तिल्की, अनदी, र घैया जस्ता धानमा रासायनिक मलको प्रयोग गर्दा बढी गँजाएर नफल्ने समस्या देखा परेको छ ।
गाभर क्षेत्रमा १ बिघा भन्दा बढी क्षेत्रफलमा यस्ता धानको खेती भइरहेको छ । जसमा घैया र तिल्की धान बिउ उत्पादनको लागि लगाइएको छ भने अनदी धानलाई स्वास्थ्यवर्धक मानिएको छ। भविष्यमा यी रैथाने धानहरूको व्यावसायिक उत्पादन गर्ने योजना रहेको चौधरीले बताए ।
तिल्की धानको चामल विशेषतः पर्वहरूमा र अतिथि सत्कारका लागि प्रयोग हुने गरेको छ भने अनदी चामल थारु समुदायमा निकै लोकप्रिय छ । घैया धानको चामल स्वास्थ्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ र यसलाई विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरूको समाधानको रूपमा पनि हेरिन्छ । यसले गर्दा गाभर भ्यालीमा उत्पादित यी धानहरूलाई संरक्षण गर्ने मात्र नभई व्यावसायिक उत्पादन र बजारीकरणमा पनि ध्यान दिइएको छ ।
गाभर भ्यालीको यो विशेषता पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण बन्दै गएको छ । यहाँका रैथाने उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पनि पहुँच पाउने सम्भावना छ। यो क्षेत्रमा पर्यटनको विकासले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।
स्थानीय उत्पादनहरूको संरक्षणसँगै कृषिमा आधारित पर्यटनको विकासले गाभर भ्यालीको पहिचान बढाउँदै लैजाने अपेक्षा गरिएको छ। रैथाने धान बालीहरूको संरक्षण र प्रवर्द्धनले स्थानीय कृषकहरूलाई आत्मनिर्भर बनाउने र कृषिको क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास गरिएको छ ।


