ठूलो रकम अनुदान लिएकाहरुको फाइल अध्ययन गर्न सुरु गरेका छौं : मन्त्री अधिकारी


नेपालगन्ज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् ।
नेपाल किसान महासङ्घ बाँकेद्वारा आज कोहलपुरमा आयोजित एक दिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि कार्यका लागि ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको जानकारी समेत दिए ।
उनले आफ्नो तर्फबाट सक्दो काम गर्ने बताउँदै मन्त्रालयबाट निस्कँदा निष्कलङ्क भएर निस्कने दृढता व्यक्त गरे । मन्त्री अधिकारीले कोहलपुरमा पाउडर प्लान्ट स्थापना गर्ने विषय आफ्नो प्राथमिकतामा परेको समेत बताए ।

उनले आफूले मन्त्रालय सम्हालेपछि दूध र उखुको बाँकी बक्यौता भुक्तानी तथा बाली बीमाको रकम उपलब्ध गराउन सफल भएको जनाए । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सरकारले तत्काल मलको कारखाना खोल्ने निर्णय गर्नुपर्नेमा जोड दिए । उनले पाउडर प्लान्ट स्थापना गर्न आग्रह समेत गरे ।
किसानहरुले समयमै मल तथा बीउ विजनको व्यवस्था, सहुलियतदरमा कृषि ऋण उपलब्ध गराउन, सिँचाइको व्यवस्था, उत्पादनको बजारीकरण, युवा पलायन रोक्न, अनुदानको दुरुपयोग रोक्न, खुला सीमाको फाइदा उठाउँदै भइरहेको अवैध ओसारपसार रोक्न मन्त्री अधिकारीसमक्ष माग गरेका छन् ।
कार्यक्रममा नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी, कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदी, नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य रमेश रावल, नेपाल किसान महासङ्घ बाँकेका उपाध्यक्ष टेकबहादुर खड्काले स्वागत मन्तव्य ब्यक्त गरेको थिए ।
त्यस अवसरमा नेपाल किसान महासङ्घका निवर्तमान अध्यक्ष भानुभक्त भट्टराईलाई सम्मानित समेत गरिएको थियो । कार्यक्रममा मन्त्री अधिकारीलाई कोहलपुर डेरी एसोसिएसनले विभिन्न माग राख्दै ज्ञापनपत्र पनि बुझाएका थिए ।

