लुकिछिपी संकलन गरिएको काँचो स्याउ बरामद

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा लुकिछिपी संकलन गरेको तीन सय क्विन्टल काँचो स्याउ बरामद गरिएको छ । पातारासी गाउँपालिका–६, स्थित उर्थु प्रहरी चौकीले निर्यात हुन लागेको उक्त मात्राको काँचो स्याउ जफत गरेको हो ।

पातारासी गाउँपालिका–४, का भोटगाउँका कृषक मक्कबहादुर रोकायाको बगैचाबाट व्यापारी हरिसप्रसाद देवकोटाले काँचो स्याउ संकलन गरेको अनुसन्धानबाट खुलेको छ । व्यापारी देवकेटाले पातारासी–४, बाट असारमा पाक्ने स्याउ भनि लिएको अबस्थामा उर्थु प्रहरीले चेकजाँच गर्दा भदौमा पाक्ने काँचो स्याउ भेटिएछि नियन्त्रणमा लिएर पालिकालाई बुझाएको हो ।

उर्थु प्रहरी चौकीले सबै स्याउ नियन्त्रणमा लिएर पातारासी गाउँपालिकाको जिम्मा लगाईएको जानकारी दिएको छ । आठौं जिल्ला सभाले समेत भदौ १५ गते भन्दा अघि स्याउ टिप्न नपाईने निर्णय गरेको र उक्त निर्णय बिपरित व्यापारीले समय नपुगिकन काँचो स्याउ संकलन गरेकोले जफत गरिएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

लुकिछिपी काँचो स्याउ संकलन गर्ने जोकोहीलाई पालिकाले नछोड्ने उपाध्यक्ष रोकायाको भनाइ छ। उता कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारिले डिप्याक्टो’ मिटर मार्फत स्याउमा गुलकोच (गुलियोपना) को मात्रा जाँच गर्दा काँचोनै भेटियको बताए ।

स्याउमा न्यूनतम् १२ देखि १५ प्रतिशत गुलियोपना भरिएपछि बजारमा टिप्न मिल्छ । तर बरामद गरिएको स्याउको गुलियोपना ९ प्रतिशत मात्रै भएको प्रमुख अधिकारिको भनाइ छ। जुम्लामा जति कडाइ गरेपनि जुम्लाको काँचो स्याउ लिकिछिपी जिल्ला बाहिर गईरहेको छ ।

Translate »