२०८३ साउन ५ , मंगलबार
Sky News Nepal
२०८३ साउन ५ , मंगलबार

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशकै पहिलो भैंसी विकास श्रोत केन्द्र स्थापना



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशकै पहिलो भैंसी विकास श्रोत केन्द्र स्थापना गरिएको छ ।

व्यावसायिक पशुपालनको प्रवद्र्धन, उन्नत नश्ल सुधार तथा स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले यशोदा कृषि तथा पशुपन्छी फर्मले करिब २ करोड लागतमा वीरेन्द्रनगर–१३, करेखोलामा केन्द्र सञ्चालनमा ल्याएको हो । मंगलवार कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले यशोदा कृषि तथा पशुपन्छी फर्ममा एक कार्यक्रम वीच केन्द्रको उद्घाटन गरेका हुन् ।

उनले स्थानीय युवा तथा किसानहरुलाई व्यावसायिक भैंसीपालनमा आकर्षित गरी स्वरोजगार बनाउने उद्देश्यले प्रदेश सरकारबाट सहुलियत पूर्ण कार्यक्रमहरु सञ्चालन गरिएको बताए ।

‘व्यवसायिक रुपमै भैंसीपालनलाई बढावा दिन प्रदेश सरकारले कृषि तथा पशुपन्छी श्रोतकेन्द्र स्थापना तथा विकास कार्यक्रम, भैसी श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थानीय कुखुरा र विशिष्टीकृत जातका पन्छी श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ,’ उनले भने, ‘ प्रदेश सरकारले ठूला कृषकका लागि ७ प्रतिशत व्याज अनुदान कार्यक्रम ल्याएर कृषक तथा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।’

उनले कृषि र पशुलाई एकीकृत गरेर व्यावसायिक रुपमा कृषि पेशा गरी आत्मनिर्भर बन्न ईच्छुक युवायुवतीका लागि प्रदेश सरकार हातेमालो गर्न तयार रहेको जनाए । कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेतका प्रमुख डा. ऋषभ गुरागाईले भैंसीको नश्ल सुधारका लागि उन्नत जातका पाडापाडी उत्पादन गरी किसानहरुलाई वितरण गर्न केन्द्र सक्षम हुने विश्वास व्यक्त गरे ।

उनले नश्ल सुधार, दूध उत्पादन वृद्धि तथा व्यावसायिक पशुपालनलाई प्रवद्र्धन गर्न केन्द्रलाई कार्यालयले प्राविधिक तथा अन्य सहयोग गर्न सदैव तयार रहेको जनाए । कृषि विकास कार्यालय सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले दूध तथा मासुको उत्पादन बढाउन स्रोत केन्द्रले मद्दत पु¥याउँने बताए ।

उनले कृषि तथा पशुलाई एकीकृत गरी व्यावसायिक उत्पादनतर्फत केन्द्रित हुन सुझाव दिए । कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी विकास महाशाखा प्रमुख कृष्णप्रसाद पंगेनीले उन्नत जातका भैंसी पालनका लागि आवश्यक गोठ, चारा, पानीको व्यवस्थासँगै घाँसको दिगो उत्पादन तथा भण्डारण, मलमुत्र व्यवस्थापन र जैविक खाडल तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले नश्ल सुधारका लागि उन्नत राँगा खरिद, उन्नत आहारा, नियमित औषधि उपचार र पशु प्राविधिक केन्द्रले अनिवार्य व्यवस्था गर्न सुझाव दिए ।

वीरेन्द्रनगर–१३, का वडाध्यक्ष दिपेन्द्रराज कोइरालाले करेखोलामा स्थापना भएको श्रोत केन्द्रले युवालाई भैंसीपालनतर्फ आकर्षित गर्नुका साथै स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  उनले प्रदेशकै उत्कृष्ट कार्यक्रम वीरेन्द्रनगरको करेखोलामा पर्नु खुसीको कुरा रहेको बताए ।

कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कृषि तथा पशुपन्छी श्रोतकेन्द्र स्थापना तथा विकास कार्यक्रम, भैसी श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थानीय कुखुरा र विशिष्टीकृत जातका पन्छी श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम अनुसार स्थापना भएका भैसी तथा स्थानीय जातका कुखुराको स्रोतकेन्द्रको उद्घाटनसँगै स्रोतकेन्द्र दर्ता सम्बन्धी प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार
Translate »