

हुम्ला । हुम्लामा उत्पादित स्याउको विक्रीवितरण गर्न पालिकाको सिफारिस अनिवार्य गरिएको छ । काँचै स्याउ बजारमा आउन थालेपछि विक्रीवितरणमा रोक लागाइएको हो ।
अब सम्बन्धि पालिकाको कृषि शाखाले जिल्लामा उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा रसयुक्त र गुणस्तरीय भएको सुनिश्चि गरेपछि मात्र विक्री वितरण गर्न पाइनेछ । जिल्ला बाहिर स्याउको निर्यातका लागि भदौ पहिलो साता भन्दा पछि मात्रै विक्री गर्न पाउने नियम लागू भएको कृषि विकास कार्यालयले जनाएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको अध्यक्षतामा बसेको बैठकले जिल्लाबाट स्याउ निर्यातका लागि सम्बन्धित स्थानीय तहको कृषि विकास शाखाबाट तोकिएको ढाँचामा अनिवार्य सिफारिस लिनुपर्ने व्यवस्था लागु गरेको हो । कृषि प्राविधिकको सल्लाह अनुसार गुलियोपनाको आधारमा पाकेको स्याउ निर्यात गर्नुपर्ने कृषि विकास कार्यालयका प्रमुख चुडामणी पन्तले बताए ।

उनले परीक्षण विनाको स्याउ निर्यात नगर्न जिल्लाका सबै पालिकाका, कृषि शाखा, उद्यमी र स्याउ व्यापारीलाई सूचना गरिने जनाए । ‘स्याउ निर्यातका लागि सिफारिस गर्दा गुलियोपना प्रमाणिकरणका आधारमा सम्बन्धित पालिका, कृषि विकास शाखाले तोकेको फर्मेटमा सिफारिस गर्नुपर्नेछ,’ उनले भने, ‘काँचो स्याउ बेचेको भेटिएमा स्याउ नियन्त्रण गरिने त्यसका लागि नाकाहरु जस्तै ताजाँकोट कुवाडी नाका र चंखेलीको दार्मा नाका प्रहरीसँग समन्वय गर्ने व्यवस्था मिलाइएको छ।’
उनले व्यावसायिक प्रयोजनका लागि कृषकलाई आवश्यक पर्ने स्याउको कार्टुन कृषकको माग बमोजिम कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यन्वयन एकाई कार्यालयबाट उपलब्ध गराउने जनाए । उनका अनुसार काँचो तथा अपरिपक्व स्याउ बाहिरी बजारमा पुग्दा हुम्लाको उत्पादनप्रतिको उपभोक्ताको विश्वासमा असर पर्न सक्ने भन्दै अब पाकेको र गुणस्तरीय स्याउ मात्रै जिल्ला बाहिर पठाउने निर्णय गरिएको हो ।
बैठकले स्याउको जात, उत्पादन क्षेत्र, पाक्ने समय र गुलियोपनालाई आधार बनाएर निर्यात अनुमति दिने गरी पाँचबुँदे निर्णय गरिएको उनको भनाइ छ । बैठकमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, सञ्चारकर्मी तथा सम्बन्धित सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।










