

गुटु । पश्चिम सुर्खेतका जननेता स्वर्गीय काशीराम देवकोटाको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेकपा एमाले चौकुने गाउँपालिका कमिटीले शनिबार गुटुमा आयोजित श्रद्धाञ्जली सभामा स्थर्गीय देवकोटाको जीवन, संघर्ष र सामाजिक योगदानको स्मरण गरिएको हो । सभामा उपस्थित वक्ताहरुले स्वर्गीय देवकोटाको राजनीतिक तथा सामाजिक योगदानको उच्च सम्मान गर्दै पश्चिमसुर्खेतको समृद्धि र समतामूलक समाज निर्माणका लागि उनले देखेका अधुरा सपनाहरुलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
२०८२ साल कार्तिक महिनामा हृदयघातका कारण असामयिक निधन भएका देवकोटालाई स्थानीय स्तरमा एक निष्ठावान्, सरल र जनताका सुखदुःखमा साथ दिने जननेताका रुपमा परिचित रहेको स्थानीय बताउँछन् ।

सभालाई नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सचिवालय सदस्य निर्मला रानाले वर्तमान राजनीतिक परिवेशमा उनको सादगीपूर्ण जीवनशैली, वैचारिक स्पष्टता र इमानदारिता नै नयाँ पुस्ताका कार्यकर्ताहरुका लागि सधैं प्रेरणाको स्रोत बनिरहने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘देवकोटाको सरल जीवनशैली, निस्वार्थ समाजसेवा र जनताप्रतिको समर्पण हामी सबैका लागि सदैव प्रेरणाको स्रोत बनिरहनेछ। उहाँले देखाउनुभएको बाटोमा हिँड्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’


सभामा राष्ट्रिय स्वतन्त्त पार्टी चौकुने गाउँपालिकाका सभापति विष्णुप्रसाद उपाध्यायले जननेता देवकोटाले समाज परिवर्तन, लोकतान्त्रिक आन्दोलन र यस क्षेत्रको विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गरे । कार्यक्रममा नेकपा एमालेका सदस्यहरु अमरबहादुर बुढाक्षेत्री, नन्दु खनाललगायतले पनि स्वर्गीय देवकोटासँग बिताएका पल र उनको राजनीतिक तथा सामाजिक व्यक्तित्वका विविध आयाममाथि प्रकाश पारेका थिए ।
श्रद्धाञ्जली सभामा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय नागरिकहरुले उपस्थितिमा स्वर्गीय देवकोटाको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।



