२०८३ साउन १२ , मंगलबार
Sky News Nepal
July 28, 2026

सालको काठसहित प्रहरी नियन्त्रणमा



स्काई न्यूज / मंसिर ९,सुर्खेत ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले १७२ थान अवैध सालको काठसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरीको ब्यूरो र इप्रका छिन्चुबाट सोमबार खटिई गएको विशेष टोलीले भेरीगङ्गा नगरपालिका–१० सुर्खेतका ४१ वर्षीय अलबहादुर पुनमगर, सोही नगरपालिका–४ का ४६ वर्षीय उदिराम खत्री र ३८ वर्षीय खिमराज खत्रीलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा प्रहरीले सुर्खेत ठूलाखालबाट छिन्चुतर्फ भे१ह ३३४१ नंको अटोमा लाँदै गरेका अटोचालक पुनमगरबाट ८.५ क्युफिटको २३ थान सालको अवैध काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।

त्यस्तै, विशेष सूचनाका आधारमा भेरीगङ्गा नगरपालिका– ४ सुर्खेतका उदिराम खत्रीको घरको करेसाबारीमा लुकाइछिपाई राखेको अवस्थामा ११४.४७ क्युफिटको १३६ थान सालको अवैध काठ र सोही वडाका खिमराज खत्रीको घरमा लुकाइछिपाई राखेको अवस्थामा ७.११ क्युफिटको १३ पिस सालको अवैध काठ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए । उनका अनुसार, बरामद गरिएको अवैध काठ र नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय छिन्चु सुर्खेतमा बुझाइएको छ ।

 

प्रकाशित मिति : २०७७ मंसिर ९ गते मंगलबार
Translate »