रोकिएनन् महिला हिंसाका घटना

महिला हिंसाविरुद्धको अभियान

स्काई न्यूज /मंसिर १७, सुर्खेत ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले देशव्यापी रुपमा सञ्चालन भइरहेको छ । यसअघि पनि हिंसाजन्य घटना नियन्त्रण गर्न भन्दै सचेतनामूलक कार्यक्रम नभएका भने होईनन् । समाज क्रमशः शिक्षित र सचेत बनिरहँदा हिंसाका घटना भने रोकिएका छैनन् । आपराधिक घटना रोक्न दर्विलो कानुन बनाएर दोषिमाथि सजाय भएपनि घटना बढ्दो क्रममा छ । सुर्खेत प्रहरीको आँकडा अनुसार महिला माथि हुने हिंसा बर्सेनि बढ्दै गईरहेको छ । चालु आर्थिक वर्षको आधा मंसिरसम्मको संख्या २०४ पुगेको छ । त्यसमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा ८ दिनमा १६ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका महिला सेल प्रमुख डिला विकले जानकारी दिईन् । उनले गत आर्थिक वर्षमा ३ सय ७२ वटा घरेलु हिंसाका घटना दता भएको बताईन् । ‘हिंसा आफंैमा राम्रो कुरा होईन र कदापी स्वीकार्य पनि छैन,’ उनले भनिन्, ‘हिंसा न्यूनिकरण गर्न र रोक्न घरैबाट अभियानको थालनी हुनुपर्छ । विशेष गरी आर्थिक अभाव झेल्दै आएको परिवार बढी हिंसाको शिकार बन्ने गरेको पाईन्छ ।’ उनले हिंसा पीडित महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरणको खाँचो रहेको औल्याईन । उनका अनुसार प्रहरीले विपन्न वर्गका पीडितलाई निःशुल्क न्यायिक उपचार दिलाउन निरन्तर लागि रहेको छ । सीप विकास, लैङगिक हिंसा निवारण तथा महिला सशक्तिकरणमा ५ करोड खर्च गरेको कर्णाली प्रदेश सरकारले यस वर्ष महिला विरुद्ध हिंसा विरुद्धको १६ दिने अभियानका लागि मात्र डेढ लाख रुपैयाँ बजेट छुट्टाएको छ । सरकारले महिला हिंसा न्यूनीकरणमा वर्षेनी खर्च गर्दे आईरहेको भएपनि लगानी अनुरुपको अपेक्षित नभएको सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताईन् । उनले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरि हिंसारहित समाज निर्माणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले हरेक व्यक्तिले सचेततापूवर्क अग्रसरता लिनुपर्ने औल्याईन् । लैंगिह हिंसा रोकथाम तथा न्यूनिकरणका लागि विभिन्न प्रयास भएपनि हिंसाका घटनाहरु नरोकिन दुःखद पक्ष भएको उनी बताउँछिन् । ‘ग्रामिण क्षेत्रमा मात्र नभई शहरी क्षेत्रमा समेत महिला अन्यायमा पर्ने गरेका छन्,’ उनले भनिन्, ‘समाजमा शिक्षित र सभ्य भनिएकाहरुबाट समेत हिंसा हुन गरेको पाईएको छ ।’ उनका अनुसार खास गरेर आर्थिक अभाव झेलेको विपन्न परिवार हिंसाको प्रत्यक्ष शिकार बन्ने गरेका छन् ।


यता बलियो कानून निर्माण र घटनामा संलग्नलाई कार्वाही गरेर मात्र हिंसामा कमी नआउने महिला अधिकारकर्मी लक्ष्मी शर्माले बताईन् । उनले महिला हिंसाका घटना निस्तेज पार्न हरेक व्यक्तिले सचेततापूवर्क अग्रसरता लिनुपर्ने औल्याईन् । ‘महिला मात्र होईन, आज पुरुष पनि हिंसाको शिकार बन्दै गएका घटना सार्वजनिक हुन थालेको छ । ज्येष्ठ नागरिक, वृद्ध–वृद्धा, बुवा–आमा समेत घरमा हिंसाको शिकार बन्नुपरेको छ । यस किसिमको लैङ्गिक हिंसा अन्त्य गर्न र हिंसा नियन्त्रण गर्न लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ,’ उनले भनिन्, ‘हरेक प्रकारका हिंसालाई रोक्न र सभ्य समाज निर्माण गर्न सरकार तथा हरेक नागरिक सचेत हुन आवश्यक छ ।’ उनले लोकतन्त्रमा राज्यका प्रत्येक अंगलाई क्रियाशील राख्ने काममा दलहरुको मुख्य भूमिका महत्वपूर्ण रहने भएकाले जनप्रतिनिधि सक्षम हुन आवश्यक रहेको औल्याईन् । उनका अनुसार अभियान केवल अभियानमै सीमित नभई समाजमा निरन्तर खबरदारीको खाँचो छ । ‘चोकमा भेला भएर भाषण गरेकै भरमा हिंसा अन्त्य हुँदैन । परिवारका हरेक सदस्य शिक्षित र सभ्य हुनुपर्छ,’ उनले भने, ‘पछिल्लोसमय युवा पुस्तामा आएको विचलन, लागुऔषध दुव्र्यशन, आर्थिक संकटले समेत हिंसालाई प्रश्रय दिइरहेको छ । समाजका हरेक नागरिक शिक्षित, सभ्य र संस्कारी भएको खण्डमा हिंसा अन्त्य हुने निश्चित छ ।’ उनले पछिल्लो समय शक्तिको आडमा समेत धेरै हिंसाका घटना भइरहेकाले अपराध नियन्त्रण गर्न सरकार सक्रिय हुन आवश्यक रहेको औल्याईन् । उनका अनुसार अभियानकै भरमा हिंसा नियन्त्रण सम्भव नभएकाले हिंसा पीडित महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरणको खाँचो छ ।


सबै पुरुष दोषी हुँदैनन्
महिला हिंसा भन्ने शब्दले पुरुषबाट पीडित महिला भन्ने नै बुझिन्छ । हिंसा के हो ? कसैलाई चोट नपु¥र्याइकन आफूखुसी हुन नसक्नु र आफ्नो इच्छापूर्तिमा जबर्जस्ती अरुलाई प्रयोग गरिनु नै हो । यो सामान्य अर्थमा विशाल वास्तविकता लुकेको छ । प्रश्न उठ्ने गर्छ– कसले गर्छ महिलामाथि हिंसा ? समाज र महिला अधिकारकर्मी आक्रामक हुन्छन् पुरुषहरुप्रति । धेरैजसो घटना पुरुष प्रवृत्तिले महिलामाथि शोषण गरेका कारण भएका तथ्यहरुसहित बाहिर आएका हुन्छन् । के पुरुष प्रवृत्ति भनेको हिंसात्मक प्रवृत्ति नै हो त ? यसले सबै पुरुषलाई हिंसात्मक संज्ञा मिल्ने हो ? अवश्य होइन, सामान्यीकरण गरेर पुरुष सबै खराब भन्न मिल्दैन । तर, जति घटनाले कानूनी उपचार खोजेका हुन्छन् । तिनमा दोषी पुरुष पात्र नै पर्ने गरेका छन् । यसले गर्दा असल चरित्रसमेत हिंसात्मक प्रवृत्तिको विशेषण बोक्न बाध्य भएका छन् । कुनै देश, कुनै धर्म, कुनै संस्कृति, कुनै भाषामा छैन महिलालाई अन्याय गर्नु भन्ने । महिलाप्रतिको आदरभाव र प्रेमले नै यो संसारको सृष्टि भएको हो । महिला जसले जीवन दियो, जीवनमा प्रेम पैदा गरायो, जीवनलाई रुपान्तरण गरायो आमाको रुपबाट, दिदीबहिनी, जीवन संगिनीका रूपबाट । ती सबै महिलालाई यो आदर र प्रेमको भावले हेर्ने कलाको विकास गराउन सके हिंसात्मक प्रवृत्ति अन्त्य हुन्थ्यो कि ?
कसरी बचाउने बालिका ?
नेपालको संविधानले हिंसामुक्त न्यायिक समाज परिकल्पना गरेको छ । संविधानको यस मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेको सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्छ ।

Translate »