२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

सातै प्रदेशमा राष्ट्रिय खाद्य बैङ्क स्थापना हुँदै




काठमाडौं । कृषि उत्पादनको बजारीकरण उत्पादन र प्याकेजिङ र बिक्री वितरण गर्ने गरी नेपालमा राष्ट्रिय खाद्य बैङ्क स्थापना भएको छ । २ अर्बको लागतमा स्थापना भएको उक्त बैङ्कले हरेक प्रकारका खाद्यान्न उत्पादनदेखि बजारीकरण तथा ‘होम डेलिभरी’सम्मका काम गर्ने भएको छ । बैङ्कले सातै प्रदेशमा जग्गा भाडामा लिएर खाद्यान्न, फलफूल, हरियो तरकारी, माछा, मासु दही, दूध, अण्डासहित नगदेबालीदेखि जडीबुटीसम्म आफै उत्पादन गरेर बिक्री वितरण गर्ने उद्देश्य लिएको राष्ट्रिय खाद्य बैङ्कका सञ्चालक तथा कृषि प्राविधिक राजिवरमण न्यौपानेले जानकारी दिए ।

देशलाई आत्मनिर्भर बनाउने अभियान स्वरूप स्थापना भएको बैङ्कमा अहिले २५० जना युवाहरू आबद्ध भइसकेका छन् । १ हजार जनासम्मको सामूहिक लगानी समग्र कृषि क्षेत्रमा लगानी गर्ने बैङ्कको योजना छ । पब्लिक कम्पनीको रुपमा स्थापना भएको बैङ्कमा कृषि विज्ञदेखि युवायुवतीलाई आबद्ध गराउने रणनीतिक योजना रहेको सञ्चालकहरूले बताएका छन् । नेपाल कृषि प्रधान देश भए पनि वार्षिक ३५–३६ अर्ब रुपैयाँको चामल आयात हुने भएकोले सबैभन्दा पहिला धान उत्पादन गर्ने बैङ्कको रणनीतिक योजना भएको कृषि विज्ञ न्यौपानेले बताए ।  सरकारी बाँझो जग्गा, सामुदायिक वन तथा गुठीका खाली जग्गाहरू, खोला छेउछाउका खाली जग्गा तथा बगर, विद्युत् प्रसारण लाइनमुनिका खाली जग्गा लिजमा लिएर कृषि उत्पादन बढाउने अभियानमा बैङ्क लागेको हो । देशअनुसार पकेट क्षेत्र छुट्टाएर उत्पादन गर्ने बैङ्कले रणनीति बनाएको र कम्तीमा १ हजार बिगाहा जमिन लिएर उत्पादन सुरु गर्ने तयारी रहेको बैङ्कका संस्थापक न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रबार
Translate »