२०८३ भदौ १० , बुधबार
Sky News Nepal
August 27, 2026

सल्यानबाट २ करोड ७० लाखको बेसार निकासी



फागुृन १२,सल्यान ।
सल्यानबाट १ वर्ष अवधिमा करीब पौने ३ करोड रुपैयाँ बराबरको बेसार निकासी भएको छ । जिल्लाबाट कुल २ करोड ७० लाख ७५० रुपैयाँ बरारबरको बेसार निकासी भएको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ । सल्यानमा उत्पादित अदुवाजस्तै बेसारले पनि राम्रो बजार पाउन थालेको कार्यालयले बताएको छ । कार्यालय प्रमुख महेश आचार्यले जिल्लामा उत्पादित बेसार बीउ र खाद्य प्रयोजनका लागि जिल्ला बाहिर निकासी हुने गरेको जानकारी दिए । उनका अनुसार जिल्लाबाट १ करोड ९ लाख ४६ हजार २५० रुपैयाँको बीउको रूपमा र १ करोड ६० लाख ५४ हजार ५०० रुपैयाँको बेसार मसालाको रूपमा निकासी भएको छ ।

बेसार नगदे बाली भएको र राम्रो आम्दानी हुने भएकाले किसानहरू यसको खेतीमा आकर्षित भएको उनको भनाइ छ । ‘अहिले जिल्लाका कालीमाटी गाउँपालिका, बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका लगायत क्षेत्रका किसानले व्यावसायिक रूपमा बेसारखेती गर्दै आएका छन्,’ उनले भने, ‘अन्न बालीभन्दा यसबाट राम्रो आम्दानी हुने भएकाले किसानले उत्पादन समेत बढाएका छन् ।’ बेसारखेती गर्ने किसानलाई कार्यालयले विभिन्न सहयोग उपलब्ध गराउँदै आएको उनको भनाइ छ । जिल्लामा उत्पादित बेसारको बीउको काठमाडौं, धनकुटा, बर्दिया, कञ्चनपुर लगायत जिल्लाबाट बढी माग हुने गरेको बताइएको छ । अहिले जिल्लाको कालिमाटी गाउँपालिका काल्चे घुरचौरका ६० परिवारले खाद्यान्न बाली छाडेर व्यावसायिक रूपमा बेसारखेती शुरू गरेका छन् । यहाँका स्थानीयले २५० रोपनीभन्दा बढी क्षेत्रफलमा उन्नत जातको बेसार लगाउँदै आएका छन् । आम्दानी राम्रो, खेती गर्न सजिलो र बजार सुनिश्चित भएकाले बेसारखेती बढिरहेको स्थानीय हरिबहादुर खड्काले बताए । स्थानीय बजारमै प्रतिकेजी १५० देखि २०० रुपैयाँमा विक्री हुने भएकाले पनि बेसारखेतीमा किसानको आकर्षण बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७ फागुन १२ गते बुधबार
Translate »