नकारात्मक सोंच त्याग्न मुख्यमन्त्री शाहीको आग्रह

स्काई न्यूज /मंसिर ७, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि कर्णालीका बासिन्दामा रहेको नकारात्म सोच सबै भन्दा ठूलो शत्रु रहेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा रिपोर्टर्स क्लव नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दे मुख्यमन्त्री शाहीले स्वर्गजस्तो कर्णालीको धर्तीलाई नरक भनेर गलत प्रचार गर्ने परनिर्भर मानसिकताले पछाडि पारिएको बताए । ‘प्रदेशको समृद्धिका लागि हरेक नागरिकमा सकारात्क सोंचसँगै आपसी एकता तथा भाईचारा जरुरी छ,’ उनले भने, ‘प्रदेशको तीव्रतर विकासमा सबैको एक्यवद्धता रहे कर्णालीलाई सुनको चरा बनाउन कुनै समय कुर्नु पर्दैन ।’ उनले कर्णालीको तीव्रतर विकासमा पत्रकारिता क्षेत्रको पनि उल्लेख्य योगदान रहने भएकाले रिपोर्टर्स क्लवले रचनात्मक सहयोग गर्न आग्रह गरे । त्यस्तै रिपोर्टर्स क्लब नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमलाले कर्णाली समृद्धिको लागि पत्रकारिता क्षेत्रको विकास हुन जरुरी रहेको बताए । उनले कर्णालीमा पत्रकारिताको विकासका लागि हरेक वर्ष दुई जना पत्रकारलाई रिपोर्टर्स क्लवले सम्मान गर्ने घोषणा गरे । क्लवको अधिवेशनले आइतबार कर्णाली प्रदेश स्तरीय कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको क्लवका केन्द्रीय सदस्य नारायण गिरीले जानकारी दिए ।

Translate »