२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतबीच सम्झौता



स्काई न्यूज /मंसिर ३०, सुर्खेत ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गुणात्मक स्वास्थ्य सेवा प्रवाहसम्बन्धी तीन वर्षीय करार सम्झौता भएको छ । प्रतिष्ठान र प्रदेश अस्पतालको पूर्वाधार उपयोग एवं उपलब्ध जनशक्तिको परिचालनगरी शिक्षण, अनुसन्धान र सेवा प्रवाहमा गुणात्मक विकास, जनशक्ति उत्पादन तथा विस्तार गर्न आइतबार वीरेन्द्रनगरमा सम्झौता भएको हो । प्रतिष्ठान जुम्लाका तर्फबाट रजिष्ट«ार विश्वराज काफ्ले, डीन रेशमबहादुर राना, हाडजोर्नी विशेषज्ञ डाक्टर मंगल रावल र प्रदेश अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डाक्टर डम्बर खड्का र डाक्टर नवराज केसीले सम्झौता पत्रमा हस्तारक्षर गरेका हुन् । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशका नागरिकहरुको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तथा शिक्षामा गुणात्मक सुधार ल्याउन सम्झौता उपलब्धीमूलक बन्ने अपेक्षा रहेको बताए । त्यस्तै मन्त्रालयका सचिव डाक्टर मानबहादुर विकले प्रदेश सरकारको स्वास्थ्य नीति, २०७६ को कार्यान्वयन स्वरुप पहिलो काम दुई स्वास्थ्य संस्थाबीचको सम्झौता भएको जनाए ।

प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले स्वास्थ्य सेवाबाट बञ्चित दुर्गम भेकका जनताको स्वास्थ्य सेवामा गुणस्तरीयता प्रदान गर्ने तथा संविधान प्रदत्त अधिकार सुनिश्चित गर्ने उद्देश्यले सम्झौता गरिएको उल्लेख गरे । अब सम्झौता बमोजिम प्रतिष्ठानले शैक्षिक कार्यक्रमका लागि आवश्यक पर्ने आधारभूत सामग्री, र प्राविधिक सहयोग, योग्यता प्राप्त डाक्टरहरुलाई ‘शैक्षिक उपाधि प्रदान’, अनुसन्धान क्रियाकलाप, जनशक्ति व्यवस्थापन, चिकित्सक एवं कर्मचारीहरुको वृतिविकासमा सुविधा प्रदान गर्नेछ ।

त्यसैगरी, प्रदेश अस्पतालले मिडवाईफेरी, एनेस्थेसिया एसिस्टेण्ट जस्ता प्रतिष्ठानद्वारा सञ्चालित स्वास्थ्य शिक्षा कार्यक्रम अन्तरगत छात्रछात्राहरुको लागि आवश्यक पर्ने प्रयोगात्मक अभ्यासको निम्ति शिक्षक, चिकित्सक, कार्यरत स्वास्थ्यकर्मी, मिडवाईफ तथा नर्सको मातहतमा रही काम गर्ने अवसर प्रदान गर्नेछ । त्यस्तै, प्रतिष्ठानबाट सञ्चालित अनुसन्धान कार्यमा प्रदेश अस्पतालका कर्मचारीहरु सहभागी गर्न अस्पताल स्वयंले सहजीकरण गर्ने र ‘लाईफ सेभिङ् सर्जिकल एण्ड एक्यूट केयर म्यानेज्मेन्ट स्किल’को प्रदेश अस्पतालले तालिम केन्द्रको रुपमा सहकार्य गर्ने सम्झौता भएको प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मंसिर ३० गते सोमबार
Translate »