‘आयुर्वेदलाई मर्यादित बनाउन आवश्यक’

स्काई न्यूज/ पुस १९, सुर्खेत ।
आयुर्वेद औषधीको विक्री वितरणलाई मर्यादित बनाउन आवश्यक रहेको कर्णालीका सरोकारवालाले बताएका छन् । गैरकानूनी औषधीको बिक्री वितरण, आयुर्वेदका नाममा हुने भ्रामक विज्ञापनसँगै दर्ता विना नै सञ्चालित आयुर्वेद चिकित्सालाई व्यवस्थित, मर्यादित एवं कानून सम्मत बनाउन आवश्यक रहेको सरोकारवालाको भनाइ छ । प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जनतालाई सर्वसुलभ तरिकाले सरकारी ऐन, नियममा रहेर आयुर्वेद औषधी विक्री वितरण गर्न आवश्यक रहेको औल्याए । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दे डाक्टर रिजालले आयुर्वेदका नाममा ‘रोग निको पार्ने’ भ्रम फैलाएर सर्वसाधारणबाट रकम असुल्ने घुमन्ते व्यापारीदेखि दर्ता नगरी औषधी विक्री वितरण गर्नेलाई कारवाही हुने बताए ।

‘आयुर्वेद औषधी बिक्रीवितरण गर्न नपाइने भन्ने होइन, तर, यसका लागि अनुमती लिनु आवश्यक हुन्छ,’ उनले भने, ‘आयुर्वेदका नाममा सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन बिक्री गरेको वा पसलको ठगीबारे उजुरी एवं गुनासो आएपछि नियम अनुसार सरकारले कारवाही गर्छ ।’ उनले आयुर्वेद औषधी बिक्री गर्ने पसल अथवा क्लिनिक जसले पनि दर्ता गर्न आवश्यक भएको बताए । कर्णालीमा उपलव्ध जडिबुटीको बहुउपयोगिता बढाउन औषधी व्यवसायीको समेत भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । अधिवेशन कार्यक्रममा नेपाल आयुर्वेद औषधी व्यवसायी संघ केन्द्रीय सदस्य डाक्टर गिरीराज शर्मा, कर्णाली प्रदेश संयोजक कविन्द्रप्रसाद अधिकारी, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेल, प्रदेश आयुर्वेद औषधालयका कविराज निरीक्षक श्रीराम आचार्यलगायतले आफ्ना भनाई राखेका थिए ।


संघ कर्णालीको अध्यक्षमा आचार्य
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा पूर्णप्रसाद आचार्य चयन भएका छन् । संघको प्रदेश स्तरीय प्रथम अधिवेशनले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आचार्यको अध्यक्षतामा ७ सदस्यीय कर्णाली प्रदेश कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा लोकप्रसाद रेग्मी, महिला उपाध्यक्षमा कुमारी शान्ति घिमिरे, सचिव दानबहादुर केसी, सह–सचिव नविन रेग्मी, कोषाध्यक्ष मनोज पन्त एवं सदस्यमा देवेन्द्र सहकारी रहेका छन् ।

Translate »