‘छुटेकालाई समावेश गर्ने प्रतिबद्धता’

स्काई न्यूज /माघ २०, सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर नपाले निमार्ण गरेको स्थानीय स्वास्थ्य ऐन २०७६ लाई संशोधनसँगै छुटेका विषयलाई समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको वीरेन्द्रनगर नपाको स्थानीय स्वास्थ्य ऐन २०७६ को समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले यस्तो प्रतिबद्धता जनाएका हुन । संघीय तथा प्रदेश सरकारले निमार्ण गर्ने स्वास्थ्य ऐनसँग नबाझियोस भनेर वीरेन्द्रनगर नपाको क्षमता अनुसार स्वास्थ्य ऐन २०७६ निमार्ण गरिएको चर्चा गर्दै नगर प्रमुख सुवेदीले ऐनमा देखिएका कमीकमजोरी एवं त्रुटीहरुलाई सुधार गर्ने उल्लेख गरे । ‘वीरेन्द्रनगरवासीलाई सहज तथा सुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ऐन संशोधन गर्न हामी तयार छौं,’ उनले भने, ‘ऐनले समेटन नसकेका स्वास्थ्यका समस्याहरुलाई कार्यविधि एवं नियमावलीमा प्रमुखताका साथ समावेश गर्ने छौं ।’

नपाका सदस्य डण्ड बिकले वीरेन्द्रनगर नपामा बसोबास गर्ने निम्न वर्गको स्वास्थ्य सेवामा पहुँच पुग्ने गरी ऐन संशोधन गरिनु पर्नेमा जोड दिए । कार्यक्रममा वीरेन्द्रनगर नपाका प्रमुख प्रशासकीय अधिकृत टिकारामढकालले समिक्षामा आएका सुझावकै आधारमा ऐन संशोधन र नियमावली निमार्णमा लागि पर्ने बताए । इन्सेक कर्णाली संयोजक नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका पूर्व डीन पिताम्बर ढकालले वीरेन्द्रनगर नपाको स्थानीय स्वास्थ्य ऐन २०७६ को पुनरावलोकन विषयक कार्यपत्र प्रस्तुत गरेपछि सहभागीले ऐनमा भएको त्रुटी, समेटन नसकिएका विषयबस्तु तथा समयानुकुलको स्वास्थ्य समस्यालाई समाधान गर्ने खालको ऐन निमार्ण गर्नुपर्ने सुझाव दिएका थिए ।

Translate »