फुटबलको उपाधि जन नमूना माविलाई
स्काई न्यूज /माघ २५ सुर्खेत ।
जिल्लास्तरीय ग्रासरुट फुटबल लिगको उपाधि जन नमूना माध्यमिक विद्यालयले जितेको छ । शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको १३ वर्षमूनिको उमेर समूह अन्तर्गत छात्रतर्फको फुटवल लिगको उपाधि जन नमूना माविले जितेको हो । सोही समुहमा इन्टरनेशनल कोअपरेटिभ एकेडेमी द्धितिय भएको छ । छात्रातर्फ कोपीला भ्याली प्रथम हुँदा इन्टरनेशनलले द्धितीय स्थान हासिल गरेको छ ।
यसैगरी १० वर्षमूनिको उमेर समूहमा छात्रतर्फ इगरब्रिज माध्यमिक विद्यालय प्रथम र इन्टरनेशनल द्धितीय हुँदा छात्रातर्फ एसओएस प्रथम र कोपीला भ्याली द्धितीय भएको सुर्खेत जिल्ला रेफ्रि संघका अध्यक्ष चन्द्रप्रकाश शाहीले जानकारी दिए । विद्यालय तहदेखि नै क्षमतावान खेलाडीहरु उत्पादन गर्न पाँच महिना लामो ग्रासरुट लिग आयोजना गरिएको शाहीले बताए । सुन्दर पोखरेल र रमेश तुलाधरले खेलको संयोजन गरेका थिए । अखिल नेपाल फुटबल संघ(एन्फा)ले सुर्खेत जिला फुटबल संघसँगको समन्वयमा आयोजना गरेको लिग शनिवार सम्पन्न भएको हो । लिग अन्तर्गत १० वर्षमूनि र १३ वर्षमुनि गरेर दुई वटा उमेर समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा गराइएको थियो । विद्यालयस्तरीय लिगमा जिल्लाका एक दर्जन बढी विद्यालयहरुले सहभागिता जनाएका थिए ।
लिगको सुरुवात गत भदौ २७ गतेबाट भएको थियो । जिल्ला फुटबल संघका अध्यक्ष जनक रावलको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा भएको लिगको समापन कार्यक्रममा वीरेन्द्रनगर–४ का वडाअध्यक्ष निलकण्ठ खनाल, निर्माण व्यवसायी महासंघ सुर्खेतका महासचिव हर्षविक्रम खड्का लगायतको सहभागिता रहेको थियो । यसैबीच जिल्ला फुटबल संघको आमन्त्रित सदस्यमा पूर्व राष्ट्रिय खेलाडी भोला रोकाय र सहसचिवमा शरद भण्डारीलाई मनोनित गरिएको छ ।