सुर्खेतमा पूर्वाधारको लागि गृहकार्य शुरु

स्काई न्यूज /माघ २६, सुर्खेत ।
२०७९ सालमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा गर्नका लागि तयारी स्वरुप प्रदेश राजधानीमा वीरेन्द्रनगरमा पहल थालिएको छ । त्यसका लागि सबैभन्दा पहिला पूर्वाधारको खोजी गर्न लागिएको छ । सुर्खेत जिल्ला खेलकुद विकास समितिको पहलमा खेलसंग सम्बन्धित पदाधिकारी, प्रशिक्षक, खेलाडीहरुवीच शनिवार छलफल गरी १० औं राष्ट्रिय खेलकुदलाई कर्णालीमा सफल बनाउन भौतिक पूर्वाधारको खोजी गर्नुपर्नेमा एकमत भएका छन् । प्रतियोगिता तीन बर्षपछि हुने भएपछि पूर्वाधार निर्माणका लागि अहिलेबाट नै जुट्नुपर्ने उनीहरुको भनाई छ । भौगोलिक विकटता भएको कर्णाली प्रदेशमा हुने विभिन्न खेलका लागि आवश्यक पर्ने मैदान नै पहिलो आवश्यता छ । समथर जमीन भएको प्रदेश राजधानी सुर्खेत बाहेक अन्य जिल्लामा पनि खोजी गर्नुपर्ने भन्दै उनीहरुले कुन खेल कहाँ गर्दा उत्तम हुन्छ भनेर त्यसको आंकलन गर्नुपर्ने पनि जनाएका छन् ।
पूर्वाधार निर्माण नै पहिलो आवश्यकता भएकोले त्यसका लागि आजैबाट खटिनुपर्ने अवस्था आएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राम वलीले बताए । खेलकुद विकास समितिका निवर्तमान कोषाध्यक्ष वीरबहादुर रावतले प्रतियोगिताका लागि खेलमैदान, कवर्ड हललगायतका भौतिक पूर्वाधारको खोजी गर्नुपर्ने र सुर्खेतमै पर्याप्त भएको जानकारी दिए । उनले २०७९ सम्म प्रदेशमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधारहरु बनिसक्ने दावी पनि गरे । तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक प्रदिप कुमार राईले १० औं खेलकुदका मेगा प्रोजेक्ट सुर्खेतमा आयोजना गर्ने गरी पूर्वाधार विकासमा लगानी गर्न नगरपालिकादेखि प्रदेश सरकारसंग पहल गर्नुपर्ने सुझाव दिए । खेलकुद विकास समितिका पूर्व क्षेत्रीय सदस्य अर्जुनजंग शाहीले समय छ भन्दैमा चुप लागेर बस्न नहुने सुझाव दिएभने ऊसु संघका अध्यक्ष हरि थापाले प्रदेशमा सवै खेलहरु गराउन सकिने भएपछि पूर्वाधार निर्माणमै जोड दिए । प्रदेश खेलकुद विकास समितिका प्रमुख विरोध विक्रम जिसीले पनि पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले आजैबाट अग्रसर हुनुपर्ने बताए । उनले भौतिक पूर्वाधार निर्माणमा खेलाडी, पदाधिकारी, प्रशिक्षकलगायत सवैले पहल गर्नुपर्ने पनि बताए । बक्सिङका प्रशिक्षक दिलिपसिंह ठकुरीले १० औं खेलकुदका लागि प्रदेश खेलकुद परिषद्को अस्थित्व कायम हुनुपर्ने बताए । उनले संविधानमा मात्रै संघियता आएको उल्लेख गर्दै प्रदेश सरकारले गठन गरेको परिषद्लाई राखेपले मान्यता नदिएको गुनासो गरे ।

सुर्खेतमा फुटबल, पौडी, क्रिकेट, एथ्लेटिक्स लगायतका खेलमा प्रतियोगिता गराउन पूर्वाधार निर्माणका लागि बजेटको पहल हुनुपर्ने र रंगशाला निर्माण कार्य समयमैं हुनुपर्ने सहभागिहरुको सुझाव छ । त्यस्तै, बास्केटबल, तेक्वान्दो, ह्याण्डबल लगायतका खेलमा प्रतिस्प्रधा गराउन पनि जग्गा लगायत पूर्वाधार अभाव रहेको सम्वन्धित खेलका प्रशिक्षकले बताएका छन् । केन्द्र सरकारले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कर्णालीका सवै जिल्लामा ५० लाखका दरले बजेट पठाइसकेको छ । सुर्खेतमा प्रतियोगिताका लागि प्याराफिट सहितको ३ वटा कवर्डहल निर्माण तत्कालै सम्पन्न हुने बताइएको छ भने केन्द्र सरकारले गुरु योजना सहितको डिपिआर निर्माणको काम सम्पन्न गरिसकेको छ । कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष चन्द्रकुमार गिरी, पूर्व अध्यक्षहरु डिल्ली सुवेदी, ऋषि गिरी, प्रशिक्षक इन्चार्ज भुवन थापा, भलिवल संघका केन्द्रिय सदस्य मंगल श्रेष्ठ लगायत प्रशिक्षकहरुले विभिन्न सुझावहरु दिएका थिए ।