चौकुनेमा राष्ट्रपति रनिङ शिल्ड शुरु

नन्दाराम खनाल /माघ २७, विजौरा सुर्खेत ।
दोस्रो चौकुने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ शिक्षा, युवा तथा खेलकुद शाखा चौकुनेको आयोजना एवं जिल्ला खेलकुद विकास समितिको समन्वयमा सोमबारदेखि विजौरामा प्रतियोगिता शुरु भएको हो । तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन गर्दे गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले खेलकुद मनोरञ्जनका निम्ति मात्र नभई स्वास्थ्यको चौतर्फी विकासका लागि भरपर्दो माध्यम भएको बताए । उनले हरेक खेललाई अनुशासित, निष्पक्ष एवं पूर्वाग्रही भन्दा माथि उठेर राष्ट्रका लागि खेलिनु पर्नेमा जोड दिए । ‘खेलकुद अब खेल्ने चीज मात्र होइन । यसले व्यक्तिको जीवनलाई स्वास्थ्य मात्र राख्दै की अब कैरियरकै रुपमा विकास गर्न सकिन्छ,’ उनले भने, ‘खेल जीवनले सिङ्गो देशलाई नै जोडर राष्ट्रलाई विश्वसामु चिनाउने सुन्दर मौका समेत उपलब्ध गराउँछ ।’

 

उनले आफ्नो प्रतिभालाई चिनेर खेल जीवनलाई व्यवस्थित बनाउँदै देश विदेशमा नाम चिनाउने काममा जुट्न आग्रह गरे । उनका अनुसार विद्यार्थीले पढाईसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदका माध्यमबाट शारीरिक व्यायामले जीवनलाई स्वच्छ बनाउँछ । त्यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रानामगरले खेलाडी राष्ट्रकै गहना भएकाले जीवनलाई अनुशासित बनाईनु पर्नेमा जोड दिइन् । कार्यक्रममा चौकुने गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत हितप्रसाद पौडेलले खेलकुदले नै विद्यार्थीको परिचय निर्धारण गर्ने हुँदा व्यक्तित्व विकासमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए । यस्तै ४ नम्वर वडाअध्यक्ष नमराज जैशी, ३ नम्वर वडाअध्यक्ष गणेशकुमार राना, शिक्षा शाखा प्रमुख भानुभक्त घिमिरे, जिल्ला खेलकुद विकास समितिका सदस्य धर्मराज ढुंगाना लगायतले कार्यक्रम सफलताको शुभकामना राखें ।

Translate »