कोरोना त्रासले सुर्खेतमा रक्त अभाव बढ्दै

पतन्जलीद्वारा आठ प्रिन्ट रक्तदान

स्काई न्यूज /चैत ८, सुर्खेत ।
विश्वव्यापी महामारीको रुप धारण गरेको कोरोना भाईरसको त्रासले बजारमा रक्त अभाव भईरहेका बेला पतञ्जली योग समिति सुर्खेतले रक्तदान गरेको छ । कोरोना त्रासले सर्वसाधारणको चलहपहलमा कम भएसँगै स्वैच्छिक रक्तदान गर्ने हरुको अभाव भईरहेका बेला पतञ्जलीले शनिबार वीरेन्द्रनगरमा शिविरको आयोजना गरि रक्तदान गरेको हो । रक्तदान शिविरबाट ८ प्रिन्ट रगत संकलन भएको प्रदेश अस्पतालमा रहेको ब्लड बैंकका ईन्चार्ज दिपेन्द्र केसीले बताए । उनले पछिल्लो समय कोरोना भाईरसको त्रासले रक्तदान गर्नेहरुको संख्यामा कमी आईरहेकाले बैंकमा पर्याप्त रगत नभएको जनाए । ‘बैंकसँग हाल विभिन्न ग्रुपको करिब २० प्रिन्ट जति रगत उपलब्ध छ,’ उनले भने, ‘यो भन्दा बढी आवश्यक परेमा तत्काल समस्या नै पर्ने अवस्था छ ।’ उनले पतञ्जलीको सक्रियतामा रगत संकलन कार्यले रक्त अभावमा केहीहद सम्म राहत पुग्ने बताए ।

रक्तदान कार्यक्रममा बोल्दै पतञ्जली योग समिति कर्णाली प्रदेशका महामन्त्री जनकबहादुर शाहीले हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सञ्चालन भैरहेकोमा अहिले विभिन्न संघसस्थाहरुको सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय रगतको माग बढी र रक्तदान कम भैरहँदा सृजित रक्त अभावलाई पूर्ण गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । त्यस्तै कार्यक्रममा पतन्जली योग समिति सुर्खेतका महिला अध्यक्ष गीता वलीले पतञ्जली योग समितिले आफ्नो कार्यदिशालाई योग, ध्यानमा मात्र केन्द्रित नगरी सामाजिक गतिविधिका विभिन्न अभियानमा सबै संघ सस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने संस्थागत उद्देश्य बमोजिम यो रक्तदान जीवनदान जस्तो पवित्र कार्यमा जोडिएको बताईन् । उनले यस्ता किसिमका हरेक गतिविधिमा पतन्जली सधैव सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको उल्लेख गरिन् ।

पतञ्जली योग समिति सुर्खेतका अध्यक्ष शिवप्रसाद गौतमले कोरोना त्रासले उत्पन्न रगत अभावलाई दुर गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनले नेपाल रेडक्रस सोसाईटी सुर्खेतको प्राविधिक सहयोगमा तत्कालका लागि ८ प्रिन्ट रगत संकलन गरिएपनि आवश्यक परे थप उपलब्ध गराईने प्रतिबद्धता जनाए । पतञ्जलीको सक्रियतामा रक्तदानमा सहभागि हुने रक्तदातालाई धन्यवाद ज्ञापन गर्दै उनले निरन्तर साथ, सहयोग एवं सहकार्यको लागि अपिल गरे ।

Translate »