भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाली त्रसित
स्काई न्यूज /चैत ८, सुर्खेत ।
विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण छिमेकी मुलुक भारतमा पनि दैनिक रुपमा बढ्न थालेपछि कर्णालीका विभिन्न जिल्लाबाट भारतमा काम गर्न गएका व्यक्तिहरु घर फर्कन थालेका छन् । भारतका विभिन्न राज्यहरुमा कोरोना भाइरस देखिएपछि हरेक दिन नेपालीहरु स्वदेश फर्किनेक्रम बढिरहेको हो । रुपैडिहा नाका हुँदै दैनिक ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किने क्रम बढेको नेपालगञ्ज उपमहानगरपालिकाको जमुनाहा स्थित हेल्थ डेस्कका प्रमुख रामबहादुर चन्दले बताए । जमुनाहा हेल्थ डेस्कका अनुसार बुधबारदेखि शुक्रबारसम्म करिब ३० हजार नेपाली नागरिक स्वदेश फिर्ता भईसकेका छन् । ती स्वदेश फिर्ता हुने नागरिक मध्ये अधिकांस कर्णाली प्रदेशका हुन् । त्यस्तै ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार नेपालगन्ज नाका हुँदै दैनिक करिब २ हजारदेखि ५ हजार जना घर फर्किन थालेका छन् । दैनिक ठूलो संख्यामा नेपाली भारतबाट घर फर्किन थालेपछि संक्रमण भित्रिने खतरा बढेको छ । खतरा बढेसँगै सीमामा कडाइ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज माधव रिजालले बताए । ‘कोरोना संक्रमण सर्न नदिन सुरक्षा निकायले यसलाई एकदमै कडाइका साथ सचेत रहन निर्देशन प्राप्त भएको छ,’ उनले भने, ‘तर पनि त्रास कायमै छ ।’ कोरोनाको डरसँगै प्रवासी नेपालीले बसन्त ऋृतुको आगमनमा अन्नपात स्यार्नुका साथै नयाँ वर्ष मनाउन घर फर्किनेहरुको संख्या बढेको हो ।
भारतको हिमाचलबाट फर्किएर सुर्खेतको वीरेन्द्रनगर दिपायल बसपार्कमा गाडीको पर्खाईमा रहेका दैलेखको महाबु गाउँपालिकाका हिमेश शाहीले भने, ‘नयाँ वर्षसँगै अन्नपात स्यार्ने बेला आयो । त्यसैमा महामारी फैलिएको छ भन्ने थाहा पाएँ,’ उनले भने, ‘केही भईहाले पनि आफ्नै गाउँ ठाउँमा उपचार गरौंला भनेर घर आयौं ।’ कोरोना भाइरसको त्रासले नेपालगन्ज नाका हुँदै घर फर्किनेमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारी गर्न भारत गएकाहरु छन् । जमुनाह नाकामा भेटिएका चुनीचाँदे जाजरकोटका यज्ञ बस्नेतले भारतमा भन्दा नेपालमा सुरक्षित हुने ठानेर घर फर्किएको बताए । ‘भारतमा भाइरस फैलिरहेको भन्ने सुनेपछि घर फर्किएँ,’ उनले भने, ‘ज्यान जोखिममा राखी रोगको भारि बोकेर अर्काको देशमा बस्नुभन्दा बेरोजगार भए पनि घरै बस्नु ठीक ।’ यता कर्णालीका दशै जिल्लाका स्वास्थ्य कार्यालयले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि तयारी गरेको भएपनि सबै स्थानीय तहहरुले खासै तयारी गरिएको देखिदैंन । भारतबाट घर फर्किनेहरुको संख्या दिन दिनै बढिरहेको भएपनि सबै स्थानीय तहमा पर्याप्त सतर्कता भने अपनाईएको देखिदैंन् । भारतबाट फर्किनेहरु सदरमुकाम भन्दा ग्रामीण क्षेत्रका बढी छन् ।
अन्तराष्ट्रिय सिमानासँग कर्णालीका धेरैजसो जिल्लाहरु नजोडिएका कारण प्रदेशमा कोरोना संक्रमणको कम जोखिम आँकलन गरिएको छ । संक्रमणको कम जोखिम आँकलन गरिएको भएपनि ग्रामीण क्षेत्रका अधिकाँश बासिन्दाको आर्थिक स्रोत भने भारतीय रोजगारी नै हो । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा हेल्थ डेस्क स्थापना गरेको भएपनि हेल्ड डेस्कमा शरीरको तापक्रम परीक्षण गर्नेहरु भने न्यून मात्रामा देखिन्छन् । मुख्य राजमार्गमा स्थापना गरिएका हेल्थ डेस्कमा धेरै व्यक्तिहरुको परीक्षण गरिएको भएपनि सहायक मार्गमा परीक्षण गर्नेहरुको संख्या न्यून छ । भारतबाट आउने नेपालीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउनु पर्ने व्यवस्था गरिएको छ । पालिका क्षेत्र भित्रका जनप्रतिनिधिहरुले आफ्नो वडाभित्र भारतवाट आउने नेपालीलाई अनिवार्य जाँच गराउन पहल गर्नु पर्ने निर्देशन भएपनि व्यवहारमा त्यो कार्यान्वयन आएको देखिदैन् ।
प्रदेशदेखि वडास्तरसम्म समिति गठन तयारी
यद्यपि ! कर्णाली प्रदेश सरकारले कोभिड–१९ को प्रतिकार्य गर्न प्रदेशदेखि वडास्तरसम्म समिति गठन गरि तत्काल कार्यान्वयनमा जाने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार नगरपालिका तथा गाउँपालिकाका प्रमुख÷अध्यक्षको संयोजकत्वमा पालिकास्तरीय कार्यान्वयन तथा अनुगमन समिति र सोहीस्वरुप एवं संरचनामा वडास्तरीय कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको छ । प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४०० क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता केसीले जानकारी दिईन् । उनले भनिन्, ‘भारतमा रहेका कर्णाली प्रदेशका नागरिकलाई छिटोभन्दा छिटो घर फर्कन अनुरोध गर्दै फर्किएका नागरिकलाई सीमानाकाबाट यातायात प्रबन्ध गरी क्वारेन्टाइनमा राखेर मात्र घरसम्म पु¥याउने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।’
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै
भारतमा कोरोना संक्रमितको संख्यामा बृद्धि हुँदै गएको छ । वीवीसी हिन्दी सेवाका अनुसार कोरोनाबाट भारतमा हालसम्म ४ जनाको मृत्यु हुनुका साथै करिब ३ सय जना संक्रमित भएका छन् ।