सेनाले निर्माण गरेको क्वारेन्टाइनमा ४८ जनालाई सारियो

सुर्खेत काँक्रेविहार यातायात प्रालिले निःशुल्क बस सेवा उपलब्ध गरायो

स्काई न्यूज/ चैत १५, सुर्खेत ।
कोरोना संक्रमणको आशंकामा सुर्खेतको जन नमूना माध्यमिक विद्यालयसँगै अन्तरनिर्भर समाजको होस्टेलमा राखिए ४८ जनालाई शनिबार नेपाली सेनाले निर्माण गरेको वीरेन्द्रनगरको खुलाचौर स्थित क्वारेन्टाइनमा सारिएको छ । भारतका विभिन्न नाकाबाट उद्दार गरि ल्याएका कर्णालीका ती नागरिकलाई प्रदेश सरकारले सेनाको सहयोगमा निर्माण गरेको क्वारेन्टाईनमा खाने, बस्ने व्यवस्था सुनिश्चित गरेपछि उनीहरुलाई सारिएको हो । नेपाली सेनाले वीरेन्द्रनगरको खुला चौरमा ४ सय बेडको क्वारेन्टाईन निर्माण गरेपनि त्यहाँ खान, बस्नका साथै ओढ्ना–विछौना खरिदमा ढिलाई हुँदा उद्दार गरि ल्याएका नागरिकलाई काम चलाउ क्वारेन्टाइनबाट सार्न ढिलाई भईरहेको छ ।

अझैपनि ७८ जना नागरिकलाई वीरेन्द्रनगरको अशोका होटलको काम चलाउ क्वारेन्टाइनमा राखिएको छ । यद्यपि ! अशोका होटलमा खान, बस्नका साथै चिकित्सकीय सेवा उपलब्ध रहेको क्वारेन्टाइनमा बसेकाहरु बताउँछन् । काम चलाउ क्वारेन्टाइनबाट सेनाले निर्माण गरेको खुलाचौर स्थित क्वारेन्टाइनमा सार्न शनिबार सुर्खेत काँक्रेविहार यातायात प्रालिले निःशुल्क बस सेवा उपलब्ध गराएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना विरुद्धको रोकथाम अभियानका लागि लकडाउनको यो विषम् परिस्थितीमा मानव सेवाका लागि बस सेवा उपलब्ध गराउन पाउँदा गर्व महसुस भएको प्रालिका अध्यक्ष रमेश सापकोटाले बताए । उनले कोरोना भाइरस नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनलाई सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाए । हाल सुर्खेतमा भारतबाट फर्किएका १२६ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने शंकास्पद ७ जनालाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए ।

 

 

Translate »