२०८३ कात्तिक २५ , मंगलबार
Sky News Nepal
November 11, 2026

५ जना चिकित्सक सेवाबाट निष्काशित



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ ।अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महीनादेखि अनुपस्थित भएकाले सेवाबाट बुधवार हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए ।      कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको डा खनालले बताए ।

सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा वरदान वली र डा ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा प्रकाश न्यौपाने, न्यूरो सर्जन डा सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा प्रकृति कार्की छन् । उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् । उनले भने, ‘यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनुपर्नेमा सम्पर्कविहीन भएपछि तिनलाई हटाउनुको विकल्प थिएन ।’  सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै अस्पतालबाट कारवाही गरिएको बताए । रासस

प्रकाशित मिति : २०७६ चैत २६ गते बुधबार
Translate »