कोरोनाको सम्पूर्ण जाँच अब सुर्खेतबाटै

स्काई न्यूज/ बैशाख ११, सुर्खेत ।
कोरोना भाइरस संक्रमण जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशिन सुर्खेत आईपुगेको छ । कोरोना भाइरस संक्रमणको सम्पूर्ण परीक्षण तथा उपचार अब सुर्खेतमै सम्भव भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बताएको छ । काठमाडौंबाट जहाजमा ल्याईएको जर्मनमा बनेको कोरोना भाइरस जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशीन लिन विहीबार सुर्खेत विमानस्थलमा आईपुगेका कर्णांली प्रदेश सामाजिक विकास मन्त्री दल रावलले अब ‘क्रस भेरिफिकेशन’को काम प्रदेश अस्पताल सुर्खेतमै हुने बताए । ‘यसअघि सुर्खेतमा रहेको पीसीआर विधिबाट कोभिड–१९ परीक्षण गर्ने गरिएको भएपनि अन्तिम टुङ्गो लगाउन ‘क्रस भेरिफिकेशन’ गर्न भन्दै संक्रमण देखिएका व्यक्ति र अन्य केही नमुना अन्तिम काठमाण्डौं पठाउनु पर्ने बाध्यता रहेको थियो,’ उनले भने, ‘अहिले ल्याईएको ठूलो क्षमताको आरटीपीसीआर मेशीनबाट दैनिक ९६ वटा नमूनाको परीक्षण सहजै गर्न सकिनेछ ।’ उनले त्यसअघि संघीय सरकारको सहयोगमा ल्याईएको सानो पीसीआर मेशीनबाट मुश्किलले दैनिक १० देखि १४ वटासम्मको नमूना जाँच गर्नु पर्नुपर्ने बाध्यता रहेको जनाए ।

उनका अनुसार उक्त सानो पीसीआर मेशीनबाट गरिने जाँच नमूना पोजेटिभ आएपछि थप परीक्षणका लागि धनगढी र काठमाडौं पठाउँदा रिपोर्ट आउन समय लाग्ने गरेको थियो । नयाँ ल्याईएको ठूलो क्षमताको आरटीपीसीआर मेशिनबाट आउँदो आइतबारदेखि जाँच परीक्षण शुरु गरिने योजना रहेको छ । २५ लाख रुपैयाँको लागतमा ल्याईएको उक्त आरटीपीसीआर मेशीन प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुने अपेक्षा राखिए छ । सोही क्षमताको आरटीपीसीआर मेशिन जुम्ला स्थित कर्णाली विज्ञान प्रतिष्ठानमा समेत जडान गर्नका लागि ल्याईएको छ । उक्त मेशीन अब सुर्खेतबाट जुम्ला पु¥याउने कर्णाली प्रदेश सरकारको योजना रहेको मन्त्री रावलले जानकारी दिए । यो सँगै ठूला क्षमताका दुई वटा आरटीपीसीआर मेशिन कर्णालीमा सञ्चालनमा ल्याईएपछि कोरोना भाइरस संक्रमण जाँच्ने गतिमा थप तीव्रता आउने अपेक्षा राखिएको उनको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९) को सम्पूर्ण परीक्षण कर्णाली प्रदेशमै हुने भएपछि यहाँका बासिन्दा समेत निकै खुशी भएका छन् ।
प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले कोरोना भाइरस संक्रमणको सम्पूर्ण परीक्षण तथा उपचार अब सुर्खेतमै सम्भव भएपछि सर्बसाधारणलाई सहज हुने बताए । उनले सुर्खेतमा रहेको सानो आरटीपीसीआर मेशिनको जाँच नमूना ‘क्रस भेरिफिकेशन’ का लागि धनगढी एवं काठमाडौं पु¥याउनु पर्ने झंझट अन्त्य हुने विश्वास व्यक्त गरे । ‘अब कोरोना भाईरस जाँच्ने मेशीन अप्रेटिङ्गका लागि प्रदेश सरकारले दक्ष प्राविधिकको संख्या बढाउनु पर्छ,’ उनले भने, ‘दुई वटा मेसिन भएपछि जतिसुकै नमूना परीक्षण सुर्खेतमै गर्न सकिने भएकाले यसबाट प्रदेश भरी सकारात्मक संदेश जाने छ ।’ उनले नयाँ ल्याईएको ठूलो क्षमताको आरटीपीसीआर मेसिनलाई छिट्टै जडान गरि सञ्चालनमा ल्याउन सुझाव दिए । यता किट भन्दापनि आरटीपीसीआर मेसिन धेरै विश्वासिलो भएकाले यसको प्रभावकारिता फरक हुने स्वास्थ्य सेवा निर्देशनालयका ल्याब युनिट इन्चार्ज ओम आचार्यले बताए । उनले हालसम्म सुर्खेत स्थित प्रयोगशालामा परीक्षण गरिएका सबै नमूना नेगेटिभ देखिएको जनाए ।