तनाव कम गर्न वीरेन्द्रनगर क्वारेन्टाईनमा योग

स्काई न्यूज /बैशाख ३०, सुर्खेत ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि सुर्खेतका सबै स्थानीय तहमा क्वारेन्टाईन स्थापना गरिएको छ । तर सबै क्वारेन्टाईन मापदण्ड अनुसारका छैनन् । कतै व्यवस्थापन अभाव छ, त कतै क्वारेन्टाईनमा बस्न मानिरहेका छैनन् । पहुँचवाला होम क्वारेन्टाईनमा छन् । पहुँचविहिन क्वारेन्टाइनमा धुलो, धुवा र गर्मीमा दिन गुजारीरहेका छन् । जिल्लाभर क्वारेन्टाइनमा भद्रगोल देखिएपनि सुर्खेत सदरमुकाम स्थित वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको पूर्व सावधानी गृहसँगै प्रदेश सरकारको सहयोगमा नेपाली सेनाले स्थापना गरेको खुल्ला मैदान स्थित क्वारेन्टाईनमा भने हरेक विहान योगा सञ्चालन भईरहेका छन् । त्यहाँ बसेका झण्डै चार दर्जन जना युवा योगा गर्छन् । क्वारेन्टाईनमा मानसिक तनाव व्यवस्थापन गर्न योग प्रशिक्षण कक्षा सञ्चालन गरिएको जिल्ला जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । क्वारेन्टाईनमा रहेकालाई रोगबाट लडन सक्ने क्षमताको विकास गर्ने उद्देश्यका साथ योगा प्रशिक्षण दिन शुरु गरिएको उनले जनाए । वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले वीरेन्द्रनगर नगरपालिका एवं प्रदेश आयुर्वेद औषधालयको संयुक्त आयोजनामा योग प्रशिक्षण शुरु गरिएको जनाए ।

शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्तीका लागि योगा निकै उत्तम विकल्प भएको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजाल बताउँछन् । उनी आफै क्वारेन्टाईन एवं पूर्व सावधानी गृहमा बसेका युवालाइ एकाविहानै चौरमा ल्याएर योगा गराउँछन् । रोग लाग्न नदिने र आफूलाई मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त राख्ने उत्तम उपाय भनेको योगा हो,’ उनले भने, ‘यहाँ बसेका युवालाई योगा सिकाउन पाउँदा निकै उत्साहित छु । योगा उनीहरुले घरमा फर्के पनि नियमित गर्ने बचन दिएका छन् ।’ अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ, दुर्वलताबाट सबलतातर्फ र सीमितताबाट असीमिततातर्फ आध्यत्मिक यात्रा नै योग हो प्रदेश आयुर्वेद औषधालयका डाक्टर यादवप्रसाद उपाध्यायले बताए ।

नियमित रुपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिने उपाध्याय बताउँछन् । यहाँ कोरोना भाइरसको संक्रमण हुन नदिनको लागि काठमाडौं, गोरखा, सिन्धुपालचोक, लम्जुङ्ग, बुटवल, नेपालगञ्ज लगायतबाट आएका लाई प्रदेश तथा स्थानीय सरकारले क्वारेन्टाईन बनाएर राखेका हुन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय एवं वीरेन्द्रनगर नगरपालिकाले यो रचनात्मक कार्य गरेर क्वारेन्टाइनमा बसेकाहरुको मनोबल जितेको प्रति प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले खुशी व्यक्त गरे । उनले भने, ‘योगाले युवामा सकरात्मक प्रभाव पारिरहेको छ । यो राम्रो पक्ष हो ।’ जिल्लाका सबै स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइनमा योगा अभ्यास गराउनु पर्नेमा उनले जोड दिए । यो काम मानवीय शारीरिक सम्बन्धमा टेवा पु¥याउने भएको कारण एकदमै उदाहरणीय भएको उनको भनाइ थियो ।

Translate »