सुर्खेतमा ३ जना कोरोना संक्रमित भेटिए
स्काई न्यूज /जेठ १०, सुर्खेत ।
सुर्खेतमा तीन जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षणसँगै नेपालगञ्ज स्थित ल्यावमा समेत रिपोर्टमा पोजेटिभ देखिएपछि उनीहरु कोरोना संक्रमित भएको पुष्ठि भएको हो । संक्रमित हुनेमा बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका एक जना गरि कुल ३ जना रहेका छन् । संक्रमित मध्ये २२ वर्षकी एक महिलासँगै २५ र ३२ वर्षका दुई पुरुष हुन् । प्रदेश अस्पतालको ल्यावसँगै नेपालगन्ज स्थित ल्यावमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए । ‘तीनै जना सुर्खेतका नागरिक हुन् । उनीहरूलाई गएको विहीवार भारतबाट उद्दार गरि ल्याएर बबईमा आरडीटी परीक्षण गरिएको थियो,’ उनले भने, ‘बबईमा करिब आठ सयको आरडीटी गराउँदा १५ जनाको कोरोना पोजेटिभ देखिएको थियो ।
ती मध्ये ३ जनाको स्वाब पीसीआरमा पोजेटिभ देखिएको हो ।’ अहिले तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ । यसभन्दा अगाडि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै कर्णालीको सुर्खेतमा ३ र दैलेखमा १ जना गरि हालसम्म जम्मा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएका ४ जनाकै प्रदेश अस्पतालको कोरोना विशेष वार्डको आइसोलेसनमा राखि उपचार भईरहेको प्रदेश अस्पताल सुर्खेतले बताएको छ ।
संक्रमितको संख्या ५८४ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको बताए । शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४५ हजार ९ सय ५७ परीक्षणहरु गरिएका छन् ।