सिम्तामा आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

स्काई न्यूज /असार ३, सुर्खेत ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी एक २५ वर्षीय युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीद्वारा जारी विज्ञप्ति अनुसार असार १ गते आत्महत्यापछि  मेहलकुना अस्पतालमा पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको हो । उनले घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिईन् ।

युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि होम क्वारेन्टिनमा बस्ने गरी पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । कर्णालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या अब ४ पुगेको छ ।

Translate »