कर्णालीमा समुदायस्तरमै फैलिन थाल्यो ‘कोरोना’

स्काई न्यूज /असार ११, सुर्खेत ।
सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतवार कोरोना संक्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो ।

पीसीआर परीक्षणबाट तीमध्ये पाँच जनामा संक्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी तीन जना बिरामी भारतबाट आएका पनि होइनन्, अर्थात् कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजेटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको पुष्टि हुन्छ ।

कर्णालीमा एकैपटक यति धेरै संख्यामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । यसअघि ‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना संक्रमण देखियो । उनी दुई साता प्रदेश अस्पतालको आइसोलेसनमा बसेका थिए । कोरोना निको भएपछि उनी फर्किसकेका छन् ।

समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको उदाहरण यतिमै सीमित छैन । डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भयो । उनी न भारतबाट आएका थिए, भारतबाट फर्किएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नै गएका थिए । समुदायमै बसिरहेका व्यक्तिमा धमाधम कोरोना संक्रमण देखिन थालेपछि कर्णालीमा त्रास बढेको छ । आइतवार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना संक्रमण देखियो । पेट दुखेपछि ती बालकलाई अस्पताल ल्याइएको थियो । एपेन्डिसाइडको शल्यक्रिया भयो । उनका बुबा भारतबाट आएर क्वारेन्टाइनमा बसेको थाहा पाएपछि अस्पतालले छोरासँगै बाबुआमाको पनि कोरोना परीक्षण गर्‍यो ।

परीक्षणबाट तीनै जनामा कोरोना संक्रमण देखियो । भारतबाट फर्किएका ती व्यक्तिकै कारण उनका श्रीमती र छोरा पनि संक्रमित हुन पुगे । हाल उनीहरुको प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।  चिकित्सक क्वारेन्टाइन व्यवस्थित गर्न नसक्दा कोरोना समुदायस्तरमा पुगिसकेको बताउँछन् । भारतबाट आएकालाई सुरक्षित तवरले क्वारेन्टाइनमा व्यवस्थापन गर्न नसक्नु, पिसिआर परीक्षण नहुँदै घर पठाइनु, होम क्वारेन्टिनको व्यावहारिक प्रयोग नहुनुजस्ता कारणले संक्रमण दोस्रो–तेस्रो चरणमा पुगेको हो ।

प्रदेश अस्पताल सुर्खेतका विशेषज्ञ चिकित्सक डा नवराज केसीले कोरोना नियन्त्रणमा लापरवाही हुँदा समुदायमा फैलिन पुगेको बताए । १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणबिनै घर पठाउँदा परिवारका सदस्यलाई संक्रमण सरेको ‘केस’हरु थप्रै आउने गरेको उनको भनाइ छ । भारत सरकारले बन्दाबन्दीकै बीच जेठ १ गतेदेखि रेल तथा बस सेवा सञ्चालन गर्‍यो । जसले गर्दा रोजगारीका क्रममा ठूलो संख्यामा त्यहाँ रहेका कर्णालीवासी विभिन्न नाका हुँदै फर्किन थाले । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांकअनुसार यस अवधिमा ४१ हजार बढी कर्णालीवासी भारतबाट फर्किसकेका छन् ।
भारतबाट फर्किनेको संख्या बढेसँगै समुदायस्तरमा पनि संक्रमितको संख्या बढ्दैछ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशमा समुदायका २२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । संक्रमण दोस्रो चरणमा पुगे पनि लकडाउन खुकुलो भएसँगै सावधानी अपनाउन छाडिएको छ । जसले गर्दा कोरोना भुसको आगोझैँ फैलिन सक्ने स्थानीयको चिन्ता छ । ‘केही समयअघि क्वारेन्टाइनमा सीमित कोरोना संक्रमणका बिरामी अहिले धमाधम समुदायमा पनि भेटिँदैछन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत अछुतो रहेनन्’, प्रदेश अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण सापकोटाले भने । प्रदेश अस्पतालका कोभिड १९ फोकल पर्सन डाक्टर केएन पौडेलले अन्य बिरामीमा पनि कोरोना संक्रमण देखिन थालेपछि उपचारमा समस्या आएको बताए । कर्णालीमा हालसम्म आशंकितबाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन । संक्रमणमुक्त नहुँदै घर पठाइने र समुदायमा शंकास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने अवस्था थप जटिल बन्दै जाने खतरा देखिएको छ । रासस

Translate »