निजी विद्यालयमा छोराछोरी पढाउने शिक्षकलाई कारबाही

स्काई न्यूज / भदौ १२,दैलेख ।
निजी विद्यालयमा आफ्ना छोराछोरी पढाएको भन्दै गुराँस गाउँपालिकाले तीन शिक्षकलाई कारबाही गरेको छ । गाउँपालिकाको वडा नं ५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका तीन शिक्षकलाई कारबाही स्वरूप जनही रू.१० हजार जरीवाना गरिएको हो । गाउँपालिकाले २०७५ चैत २५ गते गाउँपालिकाभित्रका सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो । गाउँपालिकाभित्रका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउन नपाइने र त्यसो गरेको पाइए रू. १० हजार जरीवाना गर्ने व्यवस्था गाउँपालिकाले गरेको छ । उक्त निर्णयको पालना नगरेको भन्दै उनीहरूलाई कारबाही गरिएको गाउँपालिकाको शिक्षा शाखाले बताएको छ ।

विद्यालयमा कार्यरत शिक्षकहरू पदमबहादुर नेपाली, रोशनी मल्ल र कमला कुमारी चन्दले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएको पाइएकाले रू. १० हजार जरीवाना गाउँपालिकाको खातामा जम्मा गर्न भनिएको छ । विद्यालयलाई एक पत्र लेख्दै गाउँपालिकाको खातामा जनही १० हजारका दरले रकम दाखिला गर्न अनुरोध गरिएको पत्र प्राप्त भएको प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले कार्यपालिका बैठकले निर्णय गरी प्रत्येक सामुदायिक विद्यालयलाई जानकारीका लागि पत्र पठाएको भए पनि कृष्ण माध्यमिक विद्यालयका तीनजना शिक्षकले निर्णयको अटेर गरेकाले जरीवाना गरिएको बताए । आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएकाले जरीवाना तोकिएका शिक्षक पदम नेपालीले गाउँपालिकाको निर्णय नमान्ने प्रतिक्रिया दिए ।

Translate »