मुगुमा सङ्कलन गरिएका स्वाबहरू परीक्षणका लागि प्रयोगशालासम्म पठाउन समस्या

भदौ १३, मुगु ।
हिमाली जिल्ला मुगुबाट सङ्कलन गरिएका स्वाबहरू परीक्षणका लागि प्रयोगशालासम्म पठाउन समस्या हुने गरेको छ । मुगु जिल्ला सदरमुकाम गमगढी र पालिका केन्द्रहरूमा सङ्कलित स्वाब परिक्षण हुने प्रयोगशाला रहेको कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासम्म पठाउन सडक सहज नहुँदा समस्या हुने गरेको हो । जिल्ला सदरमुकाम गमगढीबाट जुम्ला सदरमुकाम खलङ्गासम्म जाने सडकहरू कहिले पानी परेर त कहिले पहिरो गएर अवरुद्ध हुँदा स्वाब लिएर गएका गाडी हिलोमा फस्ने, बाटो मै बिग्रने जस्ता समस्या झेल्नु पर्ने भएकाले स्वाब पठाउन कठिनाइ हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.निर्मल नगरकोटीले बताए । सङ्कलित स्वावको अवधि ७२ घण्टा मात्र हुन्छ त्यसैले जिल्लाका अन्य पालिका तथा सदरमुकाममा सङ्कलित स्वाब समय मै प्रयोगशालामा पठाउन गाडी जहाँसम्म जान्छ त्यहाँसम्म गाडीमा र त्यहाँबाट मान्छेलाई स्वाब सङ्कलित बक्स बोकाएर जुम्ला पठाउने गरेको डा. नगरकोटीले बताए ।

मुगुबाट जुम्ला पुग्न गमगढी–बुलबुले–डाँफे–जुम्ला, गमगढी–नाग्म–जुम्ला र खत्याड–गोठीजिउला–नाग्म–जुम्ला सडक प्रयोग गरिन्छ यी सडकहरूको मुगु तथा जुम्लाका केही खण्डहरूको स्त्तरउन्ती नगरिएकाले हिलो सडक हुने र पहिरो खसेर अवरुद्ध हुँदै आएका छन् । पछिल्लो एक महिना यता यी सडक अवरुद्ध हुँदा मुगुतर्फ आउने सवारी तथा अन्य मालवाहक गाडी चलेका छैनन् । जिल्लाको छायानाथ रारा नगरपालिका, खत्याड गाँउपालिका, सोरु गाँउपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाका यो अवधिमा सङ्कलित स्वाब मान्छेमार्फत बोकाएर पठाउने गरिएको छ । देशमा कोरोना महामारीले ठुलो रूप लिँदै गइरहेका बेला मुगुमा स्वाब प्रयोगशालासम्म पुर्‍याउन समस्या हुन थालेपछि समय मै सङ्क्रमितको पहिचान हुन नसकी समुदायसम्म पो कोरोना फैलिने हो की भनी सरोकारवालाहरूले चिन्ता लिने गरेका छन् । मुगुबाट स्वाब पठाउन हुने गरेका विभिन्न कठिनाइका बाबजुद पनि बिहीबारसम्म एक हजार आठ सय ६१ जनाको पिसिआर परिक्षण भएको छ । मुगुमा हालसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका मध्ये खत्याड गाउँपालिकाका तीन जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएर घर फर्किएका छन् भने बाँकी छायानाथ रारा नगरपालिका क्षेत्रमा रहेको एक कार्यालयका कर्मचारी होम आइसलेसनमा रहेका छन् । उनले दोस्रो स्वाब सहित शुक्रवार तीन सय ६१ जनाको स्वाब परीक्षणका जुम्ला पठाइएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

Translate »