सिटी बसपार्क सञ्चालन नहुँदै भत्कियो


स्काई न्यूज /भदौ १३, सुर्खेत ।
वीरेन्द्रनगर सिटी बसपार्क सञ्चालन नहुँदै भत्किएको छ । २०७३ सालबाट निर्माण गर्न शुरु गरिएको सिटी बसपार्क सञ्चालनमा नआउँदै बसपार्क भित्रको कालोपत्रे भत्किन थालेको हो । कालोपत्रे (पीच) उप्किएर दुबो नै उम्रिएको छ । ‘बसपार्क सञ्चालन हुनु त टाढाको कुरा भयो । कालोपत्रेभन्दा माथि दुबो उम्रिएको छ,’ स्थानीय उपभोक्ता हिम्मत शाहीले भने, ‘ठाउँठाउँमा कालोपत्रे उप्किसकेको छ ।’ उनले सिटी बसपार्क सञ्चालनमा नआउँदै कालोपत्रे गरिएको स्थानमा यसरी दुबो उम्रिनुमा कमसल सामाग्री प्रयोग भएको बताए । उनका अनुसार निर्माण ठेकेदार र नगरपालिकाको मिलेमतोमा यस्तो कमजोर निर्माण भएको हो । नगरपालिकाले जिम्मा लिने समयमा कामको गुणस्तर जाँच नगर्न यस्तो स्थिती आएको उनको भनाइ छ । त्यस्तै वीरेन्द्रनगर–६ का राकेश पौडेलले सिटी बसपार्क निर्माणमा कमसल सामाग्री प्रयोग भएको पाईएकाले निर्माणमा संलग्न माथि छानविन गरेर पैसा असल उपर गर्नुपर्ने बताए । १५ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७३ सालबाट थालिएको बसपार्क निर्माण कार्य २ पटक म्याद थप गरी निर्माण भएको हो । २०७४ जेठ १४ गते बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने गरी २०७२ माघ १४ गते चांगमिला नरसिंह–जेभीसँग नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता गरेको कम्पनीले २०७६ कात्तिकमा नै बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । ६ करोड ८२ लाख ७५ हजार ८ सय ८९ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बसपार्क निर्माणमा ढिलाइ हुँदा लागत अनुमान भन्दा ६२ लाख बढी खर्च भएको थियो । ७ करोड ४४ लाख लागतमा बसपार्कको निर्माण सकिएको हो । नगर विकास कोषको ७ करोड ४५ लाख ऋण अनुदानमा बसपार्क निर्माण गरिएको बताईएको छ । नयाँ बसपार्कमा यात्रुलाई बस्न छुट्टाछुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कशप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट छन । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले गाडी नचलेका कारण दुबो उम्रिएको बताए । उनले ठेकेदारले आफूलाई बसपार्क हस्तान्तरण गरेको १ वर्षभन्दा बढी भइसकेको बताउँदै मर्मत गरेर गाडी चलाइने बताए । उनले कोरोना सन्त्रासले ढिलाई भएपनि अब बसपार्क सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

Translate »