कोरोनाबाट पहिलोपटक स्वास्थ्यकर्मीको ज्यान गयो

भदौ १५, काठमाडौं ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा-४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि मृत्यु भएको हो कोरोना संक्रमण पुष्टि भएर गम्भीर बिरामी परेका उनलाई उपचारका लागि महोत्तरीबाट काठमाडौं ल्याउँदै गर्दा काभ्रेस्थित भकुन्डेबेंसी क्षेत्रमा ज्यान गुमाएका हुन् । गाउँमै औषधि पसल चलाइरहेका उनी बिरामीको सेवामा सक्रिय थिए। त्यसै क्रममा उनी बिरामी परेका थिए । भदौ ७ मा बिरामी परेपछि उनको केही दिन गाउँमै उपचार भएको थियो । तर त्यहाँ अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नगेन्द्रप्रसाद चौधरीले उनको ज्यान गइसकेपछि काठमाडौंमै गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताएका छन् । उनको सूर्या हेल्थे केयर अस्पताल लाजिम्पाटमा गरिएको परीक्षणमा कोरोना देखिएको थियो । ज्यान गुमाएका स्वास्थ्यकर्मीमा मधुमेह थियो भने स्टोन पनि देखिएको थियो । प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले पनि उनको कोरोनाका कारण ज्यान गएको पुष्टि गरेका छन् ।

मनरा सिसवा नगरपालिका सूचना प्रविधि अधिकृत आलोक कुमार सहनीले कोरोना संकटबीच पनि उनी गाउँगाउँ पुगेर बिरामीको सेवामा जुटेका थिए । उहाँ सरकारी कर्मचारी त होइन, तर कोरोना संकटमा पनि उहाँले गाउँ गाउँमा पुगेर धेरै बिरामीको सेवा गर्नुभएको थियोु, उनले भने, घरमै रहेको क्लिनिकमा पनि यो बीचमा उहाँले कयौँ बिरामीको उपचार गर्नु भएको थियो । उहाँलाई बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएको हुन सक्छ । सहनीका अनुसार ज्यान गुमाएका हेल्थ असिस्टेन्ट गाउँमा लोकप्रिय थिए । सेवाभाव राखेर गाउँ गाउँमा भनेका बेला पुग्‍ने गरेकाले उहाँ लोकप्रिय हुनुहुन्थ्योु, उनले भने, तर कोरोनाकै कारण उहाँले ज्यान गुमाउन पुग्‍नु भयो । बिरामीको सेवा गर्दा गर्दै उहाँको निधन भएको छ । श्रीमती पनि गम्भीर बिरामी ज्यान गुमाएका स्वास्थ्यकर्मीकी श्रीमती पनि कोरोनाकै कारण गम्भीर बिरामी परेकी छन् । उनको अहिले सूर्या हेल्थ केयर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। पारिवारिक स्रोतका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । उनको पनि सूर्या हेल्थ केयर अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाका कारण स्वास्थ्यकर्मीको मृत्यु भएको बारेमा अहिलेसम्म कुनै जानकारी आइनसकेको बताएको छ । (थाहा खबर)


 

Translate »