कर्णालीमा एक लाख बढी बेरोजगार

कोराना कहरले थलिदै  रोग भन्दा भोगकै चिन्ता

स्काई न्यूज / भदौ १७, सुर्खेत ।
कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ६ महिनादेखि जारी लकडाउनले कर्णालीका एक लाख बढी श्रमिकको रोजगारी गुमाउनु परेको छ । कर्णालीका विभिन्न ४२ हजार प्रतिष्ठानमा रोजगारी पाएका १ लाख १८ हजार ९ सय ५१ जना श्रमिकको रोजगारी गुमेको तथ्यांक कार्यालयले जनाएको छ । जसमा पुरुष ६० प्रतिशत रहेका छन् भने, महिला ४० प्रतिशत रहेका छन् । लकडाउनले गर्दा कृषि, पर्यटन, होटल व्यवसाय, खानीजन्य उद्योग, जलविद्युत परियोजना देखि लिएर साना उद्योग कलकारखाना सबै बन्द भएपछि १ लाख श्रमिक विगत ६ महिनादेखि रोजगार बिहिन भएको तथ्यांक अधिकृत शंकर भट्ले बताए । उनले कर्णालीका १० वटै जिल्लाका गरी ४२ हजार ८ सय ७ वटा आर्थिक प्रतिष्ठानमा कार्यरत एक लाख बढी श्रमिकले रोजगार गुमाएको जनाए । उनका अनुसार जारी लकडाउन, निषेधाज्ञा र कोरोना सन्त्रासले गर्दा कर्णालीमा औद्योगिक गणना पनि हुन सकेको छैन् । कर्णालीका धेरै नागरिकको ६ महिनादेखि आम्दानीको स्रोत गुमेको छ । कोरोना महामारीअघि भारतका विभिन्न गल्लीहरुमा पसिना बगाउँथे । ‘आलु, स्याउ स्टोर र विभिन्न खाद्यान्न गोदाममा मजदुरी गर्थे । जेनतेन मासिक २० देखि २५ हजार रुपैयाँ आम्दानी हुनथ्यो,’ दैलेख गुरासका रवि विकले भने, ‘त्यही पैसाले घरखर्च चलेको थियो ।

भाइबहिनी र घरपरिवारको सम्पूर्ण खर्च म एक्लैले धानेको थियें । तर कोरोना भाइरसको महामारीसँगै भारतमा लकडाउन सुरु भयो । काम नभएपछि स्वदेश फर्किन बाध्य भएर अहिले बेरोजगार भएको छु ।’ उनले गाउँ फर्किएदेखि एक रुपैयाँ आम्दानी नभएको बताए । बेरोगारीमा अहिले घरखर्च चलाउन धौ–धौ भईरहेको उनको भनाइ छ । कोरोनाका कारण भारत जान नसकिने र गाउँमा पनि रोजगारी नभएपछि उनलाई घरखर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको छ । ‘घरमा काम छैन, गाउँमा रोजगारी पाइँदैन, आजभोलि त दिन कटाउनै गाह्रो हुन थाल्यो,’ उनले भने, ‘कोरोना कहिले सकिएला र भारत जान पाइएला ।’ यसअघि भारतबाट फर्कंदा ५०–६० हजार रुपैयाँ ल्याएर आउने उनी यो वर्ष पनि रित्तो हात फर्कनुप¥यो । भारतमा मजदुरी गरेर घरखर्च चलाउने उनी पनि कोरोनाको महामारीसँगै नेपाल फर्किएका हुन् । ‘कोरोनाका कारण भारतमा पनि काम ठप्प भयो, संक्रमित थपिँदै गए । बरु गाउँमै केही गरौंला भनेर फर्किएँ,’ सुर्खेत चौकुने गाउँपालिकाका हरिलाल बुढाले भने, ‘आम्दानीको अर्को उपाय भेटिएन, बेखर्ची बनेर बस्नु परेको छ ।’ रवि र हरिलाल मात्रै होइन, कोरोना भाइरसको महामारीपछि कर्णाली प्रदेशमा एक लाख भन्दा बढीले रोजगारी गुमाएका छन् । यसमा सबैभन्दा बढी भारतमा दैनिक ज्याला–मजदुरी गर्ने छन् । नेपालीहरुको लागि रोजगारीको मुख्य गन्तव्य भारतबाट कोरोनापछि झण्डै ७० प्रतिशत नेपाली गाउँ फर्किएका छन् । कोरोना महामारीका कारण स्वदेशमै रोजगारी गुमाउनेको संख्या पनि कम छैन । लकडाउनका कारण होटल व्यवसाय, उद्योगधन्दा र स्कुल–कलेज बन्द छन् । निजी क्षेत्रमा काम गर्ने अधिकांश मजदुरको रोजगारी कोरोनाले खोसिदिएको छ ।

कर्णालीका निजी तथा आवासीय विद्यालयमा कार्यरत साढे ५ हजार शिक्षक–कर्मचारीको रोजगारी पनि संकटमा परेको छ । कर्णाली प्रदेशका ३८० संस्थागत विद्यालयमा झण्डै साढे पाँच हजार शिक्षक कर्मचारी कार्यरत छन् । कर्णालीका उद्योग, व्यवसायमा काम गर्ने झण्डै ८० प्रतिशत श्रमिकको रोजगारी संकटमा परेको छ । लामो सयमसम्म भएको लकडाउन र कोरोना महामारीका कारण उद्योग–व्यवसाय बन्द हुँदा धेरैको रोजगारी संकटमा परेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । बाँकी २० प्रतिशत श्रमिकले पनि आंशिक रुपमा मात्रै रोजागरी जोगाएका छन् । बन्दका कारण उद्योग–व्यवसाय बन्द हुँदा रोजगारदाताले श्रमिकलाई काममा फर्काउन सक्ने अवस्था छैन । होटल व्यवसायका मात्रै झण्डै पाँच हजार श्रमिकको रोजगारी संकटमा परेको अनुमान छ । यता कर्णाली प्रदेश सरकारले भने कोरोनाका कारण विदेश तथा स्वदेशमा रोजागरी गुमाएका झण्डै डेढ लाख नागरिकलाई रोजगारी दिने लक्ष्य लिएको जनाएको छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कृषिमा मात्रै ५० हजारलाई रोजगारी दिने कर्णाली प्रदेश सरकारले लक्ष्य राखेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाका अनुसार चालू आर्थिक झण्डै डेढ लाखलाई युवालाई रोजगारी दिने प्रदेश सरकारले लक्ष्य राखेको छ । यसका लागि एक करोड मुनिका विकास निर्माणका योजनाहरु उपभोक्ता समितिबाटै गराउने सरकारको तयारी छ । ‘भोकमरी र रोजगारी प्रदेशका मुख्य प्राथमिकता हुन्,’ उनले भने, ‘कृषि र विकासका क्षेत्रमा एक लाख ५० हजार नागरिकलाई रोजगारी दिन्छौं ।’

Translate »