सल्यानमा जडीबुटीखेतीप्रति किसानको आकर्षण

स्काई न्यूज / भदौ १८,सल्यान ।
सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्गे आम्दानी हुने भएपछि यसको खेतीमा आकर्षित भएका हुन् । टिमुर, रिठ्ठा, तेजपात लगायत जडीबुटी खेतीका लागि जिल्लाको हावापानी अनुकूल मानिन्छ । जिल्लाका सामुदायिक वनमा पाइने टिमुर पछिल्लो समय कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् । शारदा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष लिलाबहादुर रोकाले आफ्नो वडाका करीब २ सय घरपरिवारले टिमुरखेती गर्दै आएको बताए । विगतमा घरायसी प्रयोगका लागि मात्रै टिमुरखेती गरिने भए पनि अहिले भने व्यावसायिक रूपमा गर्न थालिएको उनको भनाइ छ । यस वडाबाट मात्रै वार्षिक करीब ८० लाख रुपैयाँ बराबरको टिमुर विक्री हुने गरेको जानकारी दिए । ‘यहाँका स्थानीयले व्यावसायिक टिमुरखेती गर्न थालेका छन्,’ उनले भने, ‘पहिले टिमुरले मूल्य पाउँदैनथ्यो, अहिले बजार भाउ राम्रो यसको खेतीमा कृषकको आकर्षण बढेको छ ।’ टिमुरखेतीबाट प्रतिपरिवारले वार्षिक ३० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको उनले बताए ।

डिभिजन वन कार्यालय सल्यानले जिल्लामा जडीबुटी उत्पादनका लागि राम्रो सम्भावना भएको बताएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाबाट १७ करोड रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात भएको छ । टिमुर, रिठ्ठा, तेजपात, दालचिनीको बोक्रा, घोडताप्रे लगायत बहुमूल्य जडिबुटी जिल्लाबाट निकासी गरिएको हो । डिभिनल वन अधिकृत रमेशकुमार गिरीले जिल्लामा गतवर्ष ३ लाख ६४ हजार ४ सय किलो बहुमूल्य जडीबुटी उत्पादन हुँदा १८ लाख ५१ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । जडीबुटी खेतीतर्फ कृषकको आकर्षण बढेको छ,’ उनले भने, ‘जिल्लामा सबैभन्दा धेरै टिमुर उत्पादन हुन्छ ।’ कार्यालयका अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय वनमा ९५ हजार किलो र निजी आवादमा २ लाख ६७ हजार ४ सय किलो टिमुर उत्पादन भएको थियो । यस्तै, राष्ट्रिय वनबाट रिठ्ठा १ लाख ८९ हजार किलो, घोडताप्रे १ हजार ५ सय किलो, दालचिनीको बोक्रा ५ सय किलो र पाखनवेद ८ हजार ५ सय किलो संकलन भएको थियो । यसैगरी चुक्राको बोक्रा १४ हजार ८ सय किलो, तेजपात ६१ हजार ५ सय किलो, वज्रदन्ती ५ हजार किलो र गोकुलधूप ५ सय किलो संकलन भएको थियो । जिल्लाबाट गतवर्ष टिमुर मात्रै करीब १६ करोड रुपैयाँबराबरको निकासी भएको छ ।

Translate »