कक्षा १२ को परीक्षाको विकल्प खोजी

भदौ १८,काठमाडौँ ।
लकडाउन वा निषेधाज्ञा कायमै रहे वैकल्पिक माध्यमबाट पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर लकडाउन खुकुलो भए मात्र वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । कक्षा १२ को परीक्षा नभए विश्वविद्यालयको आगामी शैक्षिकसत्र संकटमा पर्ने चिन्ता व्यक्त हुन थालेको छ । बोर्डले कोरोना संक्रमणको अवस्था अलिक सहज भए अन्य विधिबाट परीक्षा गर्ने गृहकार्य गरिरहेको जनाएको छ । वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा अहिलेसम्म हुन सकेको छैन । परीक्षा कहिले हुने भन्ने पनि अनिश्चित छ । ‘कोरोनाको अहिलेको जस्तै अवस्था रहे, कुनै पनि माध्यमबाट परीक्षा लिन सकिँदैन,’ अध्यक्ष पौडेलले भने, ‘अलि अवस्था सहज भए नयाँ तरिकाबाट परीक्षा चलाउने छलफल भइरहेको छ तर टुंगो लागेको छैन ।’कक्षा १२ मा ४ लाख ३१ हजार परीक्षार्थी छन् । पाँच महिनादेखि परीक्षा रोकिएपछि बोर्डले विकल्पहरूको खोजी गर्न थालेको हो । ‘सार्वजनिक यातायात सञ्चालन नभएसम्म परम्परागत विधिबाट परीक्षा लिन सम्भव छैन,’ उनले भने, ‘महामारी कायमै रहँदा पनि कसरी विद्यार्थीको मूल्यांकन गर्न सकिन्छ भनेर अध्ययन थालेका छौं ।

’ नयाँ मोडलका विकल्पबारे सरोकारवालाहरूसँग छलफल गरेर शिक्षा मन्त्रालयमा पेस गर्ने बोर्डका अधिकारीहरूले बताए । ‘परीक्षाको कुरा हाम्रो हातमा मात्रै छैन, सीसीएमसी र सरकारले सहमति दिनुपर्छ,’ उनले भने । विषय विज्ञ, शिक्षक, अभिभावक, शिक्षाविद्, विद्यार्थीलगायत सरोकारवाला पक्षको रायसुझावसहित मन्त्रालयलाई सुझाव दिने सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि कक्षा १२ को परीक्षाको सम्बन्धमा रायसुझाव दिन बोर्डलाई निर्देशन दिएका थिए । सरकारले कक्षा १० र ११ को परीक्षा आन्तरिक मूल्यांकनका आधारमा गर्ने निर्णय गरेको थियो । कक्षा १० को विद्यालयले सञ्चालन गरेको परीक्षाका आधारमा नतिजा प्रकाशन भइसकेको छ । कोरोना संक्रमण झन्झन् फैलिएकाले नतिजा प्रकाशन भए पनि विद्यार्थीलाई प्रमाणपत्र वितरण हुन सकेको छैन । परीक्षा नियन्त्रण कार्यालयले निषेधाज्ञाका कारण करिब साढे ४ लाख विद्यार्थीको ग्रेडसिट पनि प्रिन्ट गरेको छैन । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भने पनि रोकिएको छ । अवस्था अनुकूल नभएसम्म परीक्षा नगर्न बोर्डले निर्देशन दिएको छ । अवस्था सहज भए सम्पूर्ण तयारी पूरा भइसकेका कारण सूचना प्रकाशित गरेर परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्न सकिने अवस्था छ । प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रहरूमा पुगिसकेका छन् ।

प्रतिकूल अवस्थामा पनि परीक्षा सञ्चालन गर्ने विधिहरू सरकारलाई सिफारिस गर्ने गृहकार्य भइरहेको उनले जनाए ।‘सरोकारवालाको रायसुझाव प्राप्त भइसकेपछि विकल्प १, २, ३ भनेर सरकारलाई बुझाउँछौं,’ उनले भने । विज्ञहरूले कक्षा ११ को नतिजा, विद्यार्थीको आन्तरिक मूल्यांकन, कक्षा कार्य, हाजिरीलगायत विषयलाई मापदण्ड बनाएर कक्षा १२ को मूल्यांकन गर्न सकिने सुझाव दिएका छन् । बोर्ड स्रोतका अनुसार अनलाइन परीक्षा चलाउन भने सम्भव नहुने धेरै विज्ञको सुझाव छ । लाखौं परीक्षार्थी रहेको र उनीहरू इन्टरनेटको पहुँचमा नभएको निष्कर्ष निकालिएको छ ।कतिपय सरोकारवालाले होम सेन्टर कायम गरेर पनि परीक्षा दिन सुझाव दिएको बोर्डले जनाएको छ । घरपायक परीक्षा केन्द्र कायम गरेर पनि परीक्षा सञ्चालन गर्न सकिने विकल्पहरू आएका छन् । कोरोना महामारी उच्च र कम रहेका जिल्लामा दुई चरणमा परीक्षा लिने विषयमा पनि छलफल चलिरहेको छ । ‘संक्रमण कायमै रहे पनि अब परीक्षा रोक्नु हुँदैन भनेर तयारी अघि बढाएका छौं,’ सदस्य सचिव अर्यालले भने, ‘दसैंअघि नै परीक्षा गर्ने सम्भावना भने ज्यादै न्यून छ ।’

Translate »