दलितसँग प्रेम गरेकै कारण केशरीले गरिन् आत्महत्या, प्रेमी टमट्टालाई निर्घात कुटियो

केशरीको हत्या कि आत्महत्या ? प्रहरीलाई समेत गुमराहमा राख्ने प्रयास

 

अछामको रामारोशन गाउँपालिका–२, बिरसैनका १८ वर्षीय प्रकाश टमट्टालाई अन्तरजातीय प्रेम सम्बन्धकै कारण मरणासन्न हुने गरी कुटपिट गरिएको छ । प्रेमिका केशरी रावलले भने आत्महत्या गरेकी छिन् । रावलको हत्या भएको हो कि आत्महत्या भन्नेमा शंका छ । भदौ ११ गते बिहान ४ बजे घरको माथिल्लो तलामा प्रेमिका केशरी रावलसँग प्रकाश बसिरहेको देखेपछि किशोरीकी आमाले गाउँलेलाई खबर गरेकी थिइन् । प्रकाशलाई सोही दिन लुकिरहेको अवस्थामा फेला पारेर स्थानीय युवाले कुटपिट गरेका थिए । युवाले प्रकाशलाई एक घण्टासम्म काँडेदार लौरो, हँसिया र अन्य घरेलु हतियार प्रयोग गरेर कुटपिट गरेका हुन् । प्रकाशको टाउकोसँगै शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर छ । ‘मलाई कसैले केही बोल्नै दिएनन्,’ प्रकाश भन्छन्, ‘दलित भएर क्षत्रीको छोरीसँग प्रेम गर्ने भन्दै एकोहोरो कुटिरहे ।’
प्रकाश र केशरी चाफामान्डौं राष्ट्रिय माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत थिए ।

यसरी केशरीलाई आत्महत्या गर्न बाध्य पारियो
स्थानीयले केशरी र प्रकाशलाई भेटेको दिन १७ वर्षीया केशरीलाई पनि परिवारले कुटेका थिए । दलितसँग प्रेम गरेको भन्दै केशरीलाई परिवारका सदस्यले कुटेको प्रकाशले बताए । साँझ निर्घात कुटिएकी केशरी बिहान झुन्डिएको अवस्थामा फेला परिन् । त्यतिबेला केशरीको मृत्यु भइसकेको थियो । गाउँलेले केशरी झुन्डिएको देखेपछि वडााध्यक्ष चक्र रावललाई जानकारी गराए । रावलले जिल्ला प्रहरी कार्यालय अछाममा फोन गरेर घटनाको विवरण दिए । त्यस दिन केशरीको शव झिकिएन, घटनास्थल सिल मात्र गरेर छाडियो । भोलिपल्ट (भदौ १३ गते) जिल्लाबाट थप प्रहरी टोली परिचालन गरेर शव झिकेर सदरमुकाम मंगलसेन ल्याइयो । मृतकका दाइ नाता पर्नेले मानसिक कारण आत्महत्या गरेको बताउँदै प्रहरीमा उजुरी गरे । जिल्ला प्रहरी कार्यालय अछामले पोस्टमार्टमका लागि अनुमति दियो । त्यसको दुई दिनपछि (भदौ १६ गते) जिल्ला प्रहरी कार्यालय अछामले जातीय विभेदका कारण उक्त घटना भएको जानकारी पायो । अब यसबारेमा अनुसन्धान थाल्ने जनाएको छ ।पीडित टमट्टालाई न्याय दिलाउने र दोषीलाई कारबाही गर्ने प्रहरीले जनाएको छ ।
प्रेम सम्बन्धको सुरुवात
चाफामान्डौं राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत केशरी र प्रकाशको प्रेम सम्बन्ध कक्षा ६ मा पढ्दादेखि नै सुरु भएको थियो । उनीहरू स्कुल सँगै आउजाउ गर्थे । गाउँलेले खासै वास्ता गरेनन् । सोही वडाको पडेक्षास्थित दिदीको घरमा बसेर कक्षा ३ सम्मको अध्ययन गरेकी केशरी ४ कक्षामा मात्र चाफामान्डौंमा आएकी थिइन् । उनीहरूको पहिलो भेट सोही वर्ष जेठमा भएको थियो । उनीहरू त्यही बेलादेखि नै मिल्ने साथी बनेका थिए । दुबै जनाको घर नजिक नजिक भएकाले उनीहरू स्कुल मात्र नभई घाँस, दाउरा र मेलापात गर्दा समेत सँगै हुन्थे । उनीहरू कक्षा ६ मा पढ्दा ठूलो मेला लागेको थियो । उनीहरू सँगै घरबाट निस्किए । खेतका आली चिप्ला थिए । अँध्यारो थियो । बीच बाटोमा पुगेपछि केशरीले प्रकाशलाई प्रेम प्रस्ताव गरिन् । उनले त्यसबेला कुनै जवाफ फर्काएनन् । उनीहरूले रातभरि मेला हेरे । बिहान घर फर्किँदा पुनः केशरीले प्रस्ताव राखेपछि उनले प्रेम प्रस्ताव स्विकारे । यसपछि उनीहरूको प्रेम सम्बन्ध झांगिँदै गयो । प्रेम सम्बन्ध गाढा बन्दै गएपछि केशरीले उनलाई घरमा समेत बोलाउन थालिन् । यसपछि प्रकाश कैयौं रात ११–१२ बजेको समयमा केशरीलार्ई भेट्न जान्थे । भदौ ११ गते दिउँसो केशरी र प्रकाशको भेट भयो । उनीहरूले राति भेट्ने योजना बनाए । दिउँसो प्रकाश गोरु चराउन गएका थिए । केशरी दाउरा काट्न भनेर त्यहीँ पुगेकी थिइन् । उनीहरूले चाँडै विवाह गरेर भाग्ने योजना बनाइसकेका थिए । यता प्रकाशले पैसा जम्मा पारिसकेका थिए । तर, त्यस रात पनि प्रकाश सदाझैँ राति ११–१२ बजेको आसपासमा केशरीको घर गए । उनीहरू रातभरि सँगै बसे । बिहान उनी ४ बजेको समयमा भागिसकेका हुन्थे । तर, त्यस दिन भाग्न पाएनन् । बिहान ४ बजे नै केशरीकी आमा छोरीलाई उठाउन आउँदा प्रकाशलाई सँगै देखेपछिे हल्ला गरिन् । अनि गाउँलेले थाहा पाए ।यसपछि घरबाट केटाकेटी दुवैजना भागे । उनीहरू दुवैको गल्ती हो भनेर गाउँका मान्छेहरू गाली गर्न थाले । त्यो बहिनीले यसरी आत्महत्या गर्ली भनेर सोचेकै थिएनौं । अहिले रिसको झोँकमा कतै दिदीबहिनीको घरमा गएकी होलिन् । भोलि बिहान फर्किएपछि कुराकानी गर्नुपर्छ भनेर सोचेका थियौं,’ स्थानीय महेन्द्र रावल भन्छन् ।
प्रहरीलाई समेत गुमराहमा राख्ने प्रयास
जिल्ला प्रहरी कार्यालय अछामलाई समेत स्थानीयले गुमराहमा राखेको इन्सपेक्टर रमेशदत्त अवस्थीले बताए । १२ गते अबेर फोन गरेर जानकारी दिँदा पनि वास्तविक घटनाबारे आफूलाई जानकारी नगराइएको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा खबर गर्दा झुन्डिएको अवस्थामा शव फेला परेको र मुचुल्का गरिदिन आग्रह गरिएको थियो । प्रहरीले पनि सोहीअनुसार काम गर्‍यो । घटनाबारे कुनै उजुरी परेको पनि थिएन ।
हामीलाई वास्तविक घटनाका बारेमा केही बताइएको थिएन । यसबारे अन्य गाउँलेले पनि केही खबर गरेनन् । हामीलाई थाहा नै भएन । मृतकका दाइले बहिनीको मानसिक अवस्था ठीक थिएन भनेर उजुरी दिएपछि हामीले पोस्टमार्टमका लागि अनुमति दियौं ।’ ‘हामीले १६ गते मात्र अन्तरजातीय प्रेम सम्बन्धका कारण घटना भएको हुन सक्ने हल्ला सुनेका छौं । यसअघि थाहा थिएन । यस विषयमा उजुरीसमेत परेको छैन,’ अवस्थीले भने ।
केटा फस्न सक्छ भनेर पोस्टमार्टम रिपोर्ट मिलाइएको छ’

रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले केटा फस्न सक्ने भन्दै पोस्टमार्टम रिपोर्ट मिलाइएको बताइन् । ‘हामीले रिपोर्टमा मिलाएका छौं । केटा दलित र गरिब परिवारको मान्छे हो । सहयोग गर्न उसको बुबा पनि हुनुहुन्न । यसैकारण केटीलाई मानसिक रूपमा कमजोर भएको बताएका छौं,’ रावलले भनिन् । यता कार्यपालिका सदस्य अमर लुहार भने यो सामान्य घटना भएको बताउँछन् । ‘यस्ता झिना मसिना घटना गाउँघरमा भइरहन्छन् । यो पनि त्यस्तै सामान्य घटना हो । यसलाई ठूलो बनाइनुहुँदैन । गाउँमा मिलाइनुपर्छ,’ लुहारले भने ।
सामाजिक अभियन्तालाई धम्की
घटना मिडिया ल्याएको भन्दै स्थानीय दलित अभियन्तालाई धम्की दिइएको छ । वडा सदस्य अमर लुहारले उनका भान्जा नाता पर्ने अर्जुन लुहारलाई धम्की दिएका हुन् । गाउँमै मिलाउन सकिने घटनालाई मिडियामा ल्याएर समाज खलबल्याएको लुहारको भनाइ छ । ‘मलाई अमर लुहारले धम्की दिइरहेका छन् । उनी मेरा मामा पर्छन् । मिडियामा यो घटना किन ल्याएको भन्दै थर्काइरहेका छन्,’ अर्जुनले भने ।(नेपाल पब्लिक)

Translate »