२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 6, 2026

एक जिल्लामा बत्ती गए तीन जिल्ला अन्धकार



स्काई न्यूज / भदौ २१, दैलेख । 
कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन्। विद्युत अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ। कुनै एक स्थानमा बत्ती गएपछि सबै स्थान अन्धकार हुनाले उपभोक्ताले वर्षेनी समस्या भोग्नु परेको छ। विद्युत लाइन विस्तार गरिएको कतिपय स्थानमा पुराना र जीर्ण खम्बा भएकाले सामान्य हुरी आउँदा वा रुखका हाँगाले छुँदा पनि विद्युत सेवा अवरुद्ध हुने गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको प्रसारण लाइनमा रुखका साना हाँगाबिँगाले खम्बामा बारम्बार क्षति पुग्ने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टङ्कराज गिरीले जानकारी दिए। मर्मत गर्न पनि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यताका कारण धेरैजसो मर्मतमा ढिलाइ हुने गरेको गिरीको गुनासो छ । तीन जिल्लाको विद्युत समस्या समाधानका लागि दैलेखको चुप्रामा १३२ केभिए प्रसारण लाइनको विस्तार गर्ने केन्द्र सरकारको योजना भने शुरु हुन सकेको छैन। जग्गा खोजी गर्ने, लाइन विस्तार गर्नेलगायत कामका लागि गत वर्षदेखि शुरुआत गरिए पनि अहिलेसम्म कुनै काम हुन नसकेको हो । सरकारले कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार प्रक्रिया अघि बढाएको सात वर्ष बितेको छ। विसं २०४५ मा विस्तार गरिएको विद्युतको पुरानो संरचना र क्षमता अहिलेको मागअनुसार पर्याप्त नहुँदा नागरिकले सास्ती झेल्नुपरेको छ।

प्रकाशित मिति : २०७७ भदौ २१ गते आइतबार
Translate »