२०८३ असोज २१ , बुधबार
Sky News Nepal
October 7, 2026

सल्यानमा प्रदेश लेखा इकाई कार्यालय स्थापना



स्काई न्यूज / भदौ २३,सल्यान ।
सल्यानमा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार अन्तर्गत रहने गरी जिल्लाको सदरमुकाम खलंगामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरिएको हो । कार्यालयको आईतवार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे । कार्यालयको उद्घाटन गर्दै मन्त्री ज्वालाले प्रदेश लेखा नियन्त्रक कार्यालय अन्तर्गत पर्ने प्रदेश लेखा इकाई कार्यालय सल्यान प्रदेश सरकारको सञ्चित कोष सञ्चालन गर्ने जिम्मेवार निकाय भएको बताए । उनले कर्णाली प्रदेश सरकारको लेखा व्यवस्था, खर्च प्रणाली र आन्तरिक लेखा परीक्षणलाई व्यवस्थित गर्ने उद्देश्यले प्रदेश लेखा इकाई कार्यालय स्थापना गरिएको जानकारी दिए । सल्यानमा ८ ओटा प्रदेश सरकारको कार्यालय र जिल्लाका १० ओटा स्थानीय तहलाई प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकम समेत प्रदान गर्ने जिम्मेवारीसहित कार्यालय स्थापना गरिएको उनको भनाइ छ ।

मन्त्री ज्वालाले सुर्खेतबाहेक कर्णाली प्रदेशका ९ ओटै जिल्लामा कार्यालय स्थापना गरिएको जानकारी पनि सो अवसरमा दिए । ‘कोष तथा लेखा नियन्त्रण कार्यालयबाट केन्द्र, प्रदेश र स्थानीय तहका काम गर्नुपर्ने भएकाले कामको चाप धेरै पर्ने हुँदा प्रदेश अन्तर्गतका वित्तीय कामहरू गर्ने गरी इकाई स्थापना गरेका छौं’, उनले भने, ‘इकाई कार्यालय स्थापनासँगै बजेट कार्यान्वयनमा यसले सहज बनाउने छ ।’उनले आर्थिक वर्ष २०७६/७७ मा विविध कारणले गर्दा प्रदेश सरकारले ५० प्रतिशत भन्दा कम पूँजीगत खर्च गरेको बताए । ‘यस वर्ष कर्णालीमा पूँजीगत खर्च बढाउने आधार तयार पारेका छौं, सबै जिल्लामा प्रदेश अन्तर्गतका कार्यालय स्थापनादेखि कर्मचारी व्यवस्थापन लगायत संरचना तयार पारेका छौं’, उनले भने, ‘गत वर्षको भन्दा यो वर्ष धेरै बजेट खर्च गर्ने लक्ष्य छ ।’

प्रकाशित मिति : २०७७ भदौ २३ गते मंगलबार
Translate »