सुविधा सम्पन्न भवन निर्माण हुँदै
स्काई न्यूज / भदौ २४, दैलेख ।
दैलेखमा सुविधा सम्पन्न अस्पताल निर्माण गरिने भएको छ । जिल्ला अस्पताल परिसरभित्र नै थप अर्को सुविधा सम्पन्न अस्पतालको भवन निर्माण गरिने भएको हो । ‘त्यसका लागि रू.४१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको जिल्ला अस्पतालका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए ।’ हामीले अघिल्लो वर्ष देखिनै शुरु गर्ने भनेका थियौँ, ‘कोरोना माहामारीका कारण लागू गरिएको बन्दाबन्दीले गर्दा केही ढिलाई भयो,’ उनले भने । अब यही वर्षदेखि काम शुरु हुन्छ । उनका अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नै कुनै एक संस्थाले लामो अध्ययन पश्चात यो ठाउँमा भवन निर्माण गर्न लागेको हो । सुविधा सम्पन्न भवन बनिसकेपछि यहाँका नागरिकले थप सेवा सुविधाहरु सहज रुपमा पाउने विश्वास लिईएको प्रमुख डा. पन्तले बताए । यस्तै स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको आईसीयू सेवा पनि सञ्चालनमा ल्याइएको उनले बताए । पाँच महीना अघि खरीद गरिएको दुई ओटा भेन्टिलेटर सहितको आईसीयू सेवा केही दिन अघिदेखि मात्र सञ्चालनमा ल्याइएको हो । सेवा सञ्चालन भएपछि जटिल केशका बिरामीहरुको उपचार भइरहेको पन्तले बताए । ‘सो सेवा सञ्चालनमा आए पश्चात जटिल खालका बिरामीको उपचारमा अहिले सहज भएको छ,’ उनले भने ।