सुर्खेतलाई डोटी जोडने सडकले पायो तीव्रता

छेडा–कल्याणकाँध–धनरास–बेनिघाट सडक

पर्यटकीय गतिविधिसँगै अर्गानिक उत्पादन बढ्ने अपेक्षा

स्काई न्यूज / भदौ २५, सुर्खेत । 
नेपालमा बहुदलको आगमनसँगै पश्चिम सुर्खेतले जिल्ला स्तरीय धेरै नेता, कार्यकर्ता जन्मायो । ती नेता, कार्यकर्ताहरुले विभिन्न समयमा पश्चिम सुर्खेतको सडक अभावलाई भजाउँदै निर्वाचन ताका राजनीति लाभ लिँदै आयें । निर्वाचन आफ्नो पक्षमा पारेपछि पक्की सडक बनाई दिने नारा, प्रतिवद्धता, र आश्वासन अर्को चुनावसम्म जस्ताको तस्तै रहन्थ्यो । धेरै समयदेखि बड्डीचौर–गुटु– बेनिघाट सडक निर्माणको नारा सेलाउन नपाउँदै अहिले छेडा–कल्याण काँध–भगतडी–छाप्रे–रेक्चा–धनरास– बेनिघाट सडकको चर्चा भईरहेको छ । सुर्खेत क्षेत्र नं. २, बाट प्रतिनिधि सभाका लागि भारी बहुमतले निर्वाचित स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले चुनाव ताका गरेको सडक निर्माण प्रतिवद्धता पुरा गर्न गाउँ फर्केपछि छेडा–कल्याण काँध–भगतडी–छाप्रे–रेक्चा–धनरास–बेनिघाट सडकले चर्चा पाएको हो । अहिले खासगरी पश्चिम सुर्खेतको लेकाली क्षेत्रका नागरिक राज्यमन्त्री रावतको प्रतिबद्धता पूरा हुने पर्खाइमा छन् । विहीबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको छेडादेखि डोटी जोड्ने छेडा–कल्याण काँध–भगतडी–छाप्रे–रेक्चा–धनरास–बेनिघाट सडक निर्माणको अवलोकन गर्न राज्यमन्त्री रावत पुगें ।

स्थानीय एवं प्रदेश सरकारले महत्व दिन नसकेको पर्यटकीय छेडा–कल्याण काँध–भगतडी–छाप्रे–रेक्चा–धनरास– बेनिघाट सडकलाई राज्यमन्त्री रावतले संघीय सरकार मार्फत सडक निर्माणलाई निरन्त दिन चाहेका छन् । दुई खण्डमा विभाजित गरेर पहिलो चरणमा करिब १० किलोमिटर सडक वीरेन्द्रनगर–१४, छेडालाई जीरो प्वाईन्ट मानेर निर्माणकार्य तीव्र रुपमा अघि बढाईएको छ । सडक निर्माण कम्पनी पीएल कन्सटेक्सनले एक करोड २२ लाख रुपैयाँमा छेडादेखि नाला बनाउने, ग्याविन जाली लगाउने, व्याक कटिङ्गसँगै गबे्रल विछ्¥याउने कामलाई तीव्रता दिएको अनुगमनका क्रममा पाईयो । लामो समयसम्म निर्माणले गति नलिँदा अनेक समस्या खेप्न बाध्य यस क्षेत्रका बासिन्दामा यो तीव्रतासँगै खुसीयाली छाएको छ । भीरपहरा फोडेर कर्णालीका कालिकोट–जुम्ला सडक पुग्दा पनि भित्रि मधेशको समथर सुर्खेतका लेकाली क्षेत्रमा सडक नपुग्दा स्थानीयवासीले राज्यबाट हेपिएको महसुस गर्दै आएका थिए ।

अब पहिलो चरणमा वीरेन्द्रनगर–१४, छेडादेखि फिनिकाँडासम्म मंसिर अगाबै सडक निर्माण गरिसक्ने पीएल कन्सटेक्सनका प्रोपराईटर विक्रम गिरीले बताए । उनले (कोभिड–१९) का कारणले उत्पन्न लकडाउन, निषेधाज्ञा एवं सिल लगायतका बावजुद तोकिएको समय पुस मसान्त अगावै काम सम्पन्न गर्ने दावी गरे । दोस्रो खण्ड अन्तर्गत सोतखोलादेखि कल्याण काँधसम्मको १३ किलोमिटरसम्म नयाँ ट्¥याक खोल्न कटिङ्ग एवं ग्याविन जाली लगाउने जिम्मा एनएस विल्डर्सले पाएको छ । साढे ९२ लाख रुपैयाँमा ट्¥याक खोल्ने जिम्मा पाएको एनएस विल्डर्सका प्रोपराईटर नेत्र कार्कीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने दावी गरे । उनका अनुसार अहिले वर्षातका वावजुद कटिङ्ग गर्ने मेसिनसँगै कामदार सोतखोलामा पुगिसकेका छन् । यता सडक डिभिजन सुर्खेतका सूचना अधिकारी ईन्जिनियर  देवेन्द्र भट्टराईले पहिलो खण्ड अन्तर्गत छेडादेखि फिनिकाँडासम्मको करिब दश किलोमिटरको काम उत्साहजनरुपले निर्माण कार्य अगाडि बढेको बताए । उनले हालसम्म करिब ३५ प्रतिशतसम्म भौतिक प्रगति भईसकेकाले तोकिएको अवधि भन्दा अगाबै सडक निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

 

विकास–निर्माणले गति पायोः राज्यमन्त्री रावत
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले पश्चिम सुर्खेतमा विकास निर्माणको कामले तीव्रता पाएको दाबी गरेका छन् । संघीय सरकार अन्तर्गतका विभिन्न आयोजनाको काम सम्पन्न भएको, अन्य योजना निर्माणले तीव्रता पाइरहेको तथा केही आयोजना निर्माणको तयारीमा रहेकाले अब विकासले फड्को मार्ने उनको भनाइ थियो । विहीबार वीरेन्द्रनगर–१४, छेडामा स्थानीय नागरिकसँग कुराकानी गर्दे राज्यमन्त्री रावतले ग्रामीण क्षेत्रमा भएका कार्यक्रममा स्थानीयलाई सुविधा थप्दै लगेको सुनाएका थिए । ‘३० वर्षअघि पश्चिम सुर्खेतका खोला तर्दै हिँड्दादेखि नै सडक र खानेपानीको समस्या थियो । अहिले पश्चिम सुर्खेतका विभिन्न गाँउमा सडक र खानी पानी आयोजना सञ्चालनमा आएका छन । त्यो बेलाका दुःख मलाई सम्झना छ । अहिले सडक बनेका छन् । अझै सुविधा थप्न बाँकी छ,’ उनले भने, ‘छेडा–कल्याण काँध–भगतडी–छाप्रे–रेक्चा–धनरास– बेनिघाट सडक निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा अघि बढ्न आवश्यक छ । तीव्रताका साथ काम सम्पन्न गर्ने र जनतालाई सुख सुविधा उपलब्ध गराउने काममा तीनै तहका  सरकारको समान सहभागिता रहनु  पर्छ ।’

उनले सडक पूर्वाधार, विद्युत, खानेपानी, उत्पादन, रोजगाकारी, शिक्षा र स्वास्थ्यका लागि तीनै तहका सरकारले काम गर्न आवश्यक रहेको औल्याए । विकास निर्माण कुरालाई बढी जोड दिएका राज्यमन्त्री रावतले अग्र्यानिक उत्पादन तथा पर्यटन विकासमा जोड दिन अनुरोध गरे । उनका अनुसार छेडा–कल्याण काँध–भगतडी–छाप्रे–रेक्चा–धनरास–बेनिघाट सडक निर्माण भएपछि स्थानीय उत्पादनले बजार पाउनुका साथै पश्चिम सुर्खेतलाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्न वैकल्पिक मार्गका रुपमा विकास गरिनु पर्छ । ‘छेडा–कल्याणकाँध–भगतडी–छाप्रे–रेक्चा–धनरास– बेनिघाट सडक पश्चिम सुर्खेतका लेकाली भू–भाग हुँदै डोटी जिल्ला जोड्ने भएकाले अत्यन्त मनोरम दृश्यसँगै अर्गानिक वस्तु उत्पाउनका लागि उपयुक्त हुन सक्छ,’ उनले भने, ‘बेनिमा रहेको त्रिवेणीसँगै लेकाली डाँडाका मनोरम दृश्य मात्र नभई तराईका हरिया फाँट र सेताम्मे हिमाल हेर्नका लागि पनि उपयुक्त रहेकाले यसलाई पर्यटकीय सडकका रुपमा पनि विकास गरिनु पर्छ ।’ उनले स्थानीय जनताको सहभागितामै छेडा–कल्याण काँध–भगतडी–छाप्रे–रेक्चा–धनरास– बेनिघाट सडकलाई पर्यटकीय सडकका रुपमा विकास गरिने जिकिर गरे ।

Translate »