धरोधर्म, ‘ससुरालीको भन्दा आइसोलेशनको खाना नै मिठो’

‘घर भन्दा आइसोलेशन नै ठिक’


स्काई न्यूज / भदौ २९, सुर्खेत ।
सुर्खेतको सिटी बस पार्क स्थित आइसोलेशनमा बसेका एक कोरोना संक्रमित पुरुषले सोमबार विहान वीरेन्द्रनगरका उपमेयर मोहनमाया ढकाललाई भने, ‘धरोधर्म, ‘ससुरालीको भन्दा आइसोलेशनको खाना नै मिठो छ ।’ उपप्रमुख मोहनमायासँगै प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, अनुगमन उपशाखा प्रमुख यामलाल गिरी र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीसहितको उपस्थितिमा गरिएको अनुगमनका क्रममा ती कोरोना संक्रमित पुरुषले भनेका हुन् । ‘अन्न जस्तो पवित्र कुरामा झुठो बोल्नु हुँदैन, जे हो सत्यतथ्य बोल्नु पर्छ । सरकारले आइसोलेशनमा बसेकालाई गरेको सेवा ससुराली भन्दा बढ्ता छ,’ उनले भने, ‘जस्तो स्वादको नास्ता, खाना माग्यो त्यस्तै पाईरहेका छौं । यहाँ ससुराली घरको भोजन भन्दा मिठो खाना खान पाईएको छ ।’ उनले कोरोना संक्रमितलाई जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीले पु¥याएको सेवाको खुलेर प्रशन्सा गरे । कर्णाली प्रदेशका विभिन्न आईसोलेशनमा उपचाररत कोरोना संक्रमितलाई दिने खाना गुणस्तरीय नरहेको गुनासो आईरहेका बेला सोमबार वीरेन्द्रनगर नगरपालिकाको टीमले स्वास्थ्यकर्मी र राष्ट्रिय उपभोक्ता  मञ्चका पदाधिकारीसहित आइसोलेशनको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा सिटी बसपार्क आइसोलशनको गुणस्तरीय सेवा, सुविधासँगै उच्च इन्टरनेट सेवा उपलब्ध रहेको आइसोलेशनमा बसेका कोरोना संक्रमितले बताएका थिए । वीरेन्द्रनगर–४, का एक कोरोना संक्रमित महिलाले अनुगमन टोलीलाई भनिन, ‘हामीलाई यहाँ कुनैपनि समस्या छैन् । आवश्यक सबै सेवा, सुविधा पाइएको छ । संक्रमणमुक्त हुनुका लागि घर भन्दा आइसोलेशन नै ठिक छ ।’ कोरोना संक्रमितबाट सन्तोषजनक उत्तर मिलेपनि उपमेयर ढकालले भोजन सप्लायर्सलाई खानाको शुद्धता एवं गुणस्तरीयतामा ध्यान दिन आग्रह गरिन् । उनले आइसोलेशनमा बसेका कोरोना संक्रमितको उचित व्यवस्थापनमा कुनैपनि कसर बाँकी नराख्न कर्मचारीलाई समेत निर्देशन दिईन् । उनका अनुसार अब छिट्टै सिटी बसपार्क स्थित कोरोना आइसोलशनलाई कटुकुवा हेपोमा सारिने छ । अनुगमनका क्रममा वीनपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले समुदायस्तरमै कोरोना संक्रमण बढ्न थालेकाले सजक र सचेत हुन आवश्यक रहेको औल्याए । उनले कोरोना केही होइन, भन्ने हेलचक्राईन नगरी आफु बचेर अरुलाई नि बचाउने तर्फ जुट्न नागरिकलाई आग्रह गरे । नपाले अन्य विकास निर्माणका काम छोडेर पनि (कोभिड–१९) व्यवस्थानमा अहिले जुटिरहेको उनको भनाइ थियो । वीनपामा हालसम्म संक्रमितको संख्या ३२४ जना रहेकोमा २५८ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन भने ७६ जना विभिन्न आइसोलेशनमा रहेका छन् ।

Translate »