कोरोनाको प्रसार रोक्न बाँकेमा भद्र सहमति

स्काई न्यूज / भदौ ३०,बाँके ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षीय छलफल पछि बाँकेमा जारी रहेको साताको २ दिने निषेधाज्ञा र जोर बिजोर सवारी सञ्चालन आवश्यकताको आधारमा बिस्तारै हटाउँदै जाने गरी भद्र सहमति भएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष अब्दुल वाहिद मन्सुरी उर्फ चुन्नाको नेतृत्वमा गएको व्यापारीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको नेतृत्वमा रहेको प्रशासनिक टोली बिच छलफल गरी वर्तमान कोरोना सङ्कटबाट बच्दै सामाजिक दुरी कायम गरी व्यवसायलाई चलायमान कसरी गराउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ । छलफलमा बाँकेमा कोरोनाको सङ्कट अझै थपिँदै गएको परिपक्ष्यमा यसको सबै मिलेर सामना गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर सर्वसाधारणहरू देखी गरिखाने वर्गहरूमा समेत कोरोना नियन्त्रणका नाममा गरिएका गतिविधिले दैनिक जीविकोपार्जनमा समेत जटिलता उत्पन्न भएको विषयमा छलफल भएको छ ।

छलफलपछि बाँकेमा आवश्यकता हेरी कोरोना नियन्त्रणका लागि आवश्यक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैले पहल गर्ने र निषेधाज्ञा, जोर बिजोर सवारी नम्बर लागू यी सबै भिडभाड कम गर्ने उपायको रूपमा लागु गरिएकोमा यसलाई सबैले मनन गरी आवश्यकताको आधारमा सञ्चालन गर्ने गरी भद्र सहमति गरिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । प्याकुरेलले आफ्नो माथिल्लो निकायका व्यक्तीहरुसंगको परामर्श तथा स्थानीय आवश्यकताको आधारमा भद्र सहमति गर्दै अगाडी बढ्ने निर्णय भएको जानकारी दिए । अनावश्यक भिडभाड नगर्ने, स्वास्थ्य मापदण्डहरू सबैले पालना गर्नुपर्ने, निषेध गरिएका कार्यहरू नगर्ने, कोरोना संक्रमण नियन्त्रणका लागि आ आफ्नो ठाउँबाट सबैले लागे पुगे सम्म सहयोग गर्ने गरी भद्र सहमति गरिएको छ । आगामी दिनको आवश्यकता हेरी निषेधाज्ञा, निश्चित क्षेत्र सिल पनि गर्नुपर्ने पनि हुनसक्ने भएकाले सबैले यसलाई अधिकार नसम्झी यसलाई फैलिन नदिन इमानदार भएर जिम्मेवार नागरिकको रूपमा भूमिका निर्वाह गरी दिन पनि सबैमा अनुरोध गरिएको निमित्त प्रजिअ प्याकुरेलले बताए ।

 

Translate »