कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु
स्काई न्यूज / असोज ५, नेपालगन्ज।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट ४ सहारेका ५८ बर्षीय कैदीबन्दीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोभिड–१९, का फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
दमको विरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या रहेका ती कैदीबन्दीलाई उपचारका लागि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो । कर्तव्य ज्यान मद्दामा उनले कारागारमा सजाय भुक्तान गरिरहेका थिए । उनको भदौ २१ गते स्वाव लिइएको थियो । सोही दिन उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
२२ गते अस्पताल भर्ना भएका उनको आज (सोमबार) विहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको हो । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । त्यस्तै बाँके जिल्लामा बाहिर जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या भने ४ पुगेको छ । यसअघि कैलाली, अछाम र अर्घाखाँचीका १÷१ जनाको मृत्यु भएको थियो ।